News Summary
Generated by OK AI. Editorially reviewed.- चेक रिपब्लिककी लिन्डा नोस्कोभाले कारोलिना मुचोभालाई पराजित गर्दै पहिलो पटक विम्बल्डन महिला एकल टेनिसको उपाधि जितेकी छिन् ।
- नोस्कोभाले ६–२, ५–७ र ६–३ को सेटमा जित निकाल्दै आफ्नो खेल जीवनकै पहिलो ग्रान्डस्लाम उपाधि हात पारेकी हुन् ।
- विम्बल्डनको इतिहासमा दुई चेक खेलाडीबीच भएको यो पहिलो महिला एकल फाइनल हो ।
२८ असार, काठमाडौं । चेक रिपब्लिककी युवा टेनिस खेलाडी लिन्डा नोस्कोभाले नाटकीय फाइनलमा आफ्नै साथी कारोलिना मुचोभालाई पराजित गर्दै विम्बल्डनको महिला एकल उपाधि जितेकी छन् ।
२१ वर्षीया नोस्कोभाले मुचोभालाई ६–२, ५–७ र ६–३ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितिन् । दुई चेक खेलाडीबीच भएको यो विम्बल्डन इतिहासकै पहिलो महिला एकल फाइनल थियो ।
नोस्कोभा पहिलो सेट ६–२ ले जित्दै दोस्रो सेटमा ५–२ ले अगाडि थिइन् । सहज जिततर्फ अघि बढेकी उनले पाँच पटक च्याम्पियनसिप पोइन्टको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकिनन् ।
त्यसपछि १०औं वरीयताकी मुचोभाले लगातार पाँच गेम जित्दै दोस्रो सेट ७–५ ले आफ्नो पक्षमा पारिन् र खेल निर्णायक सेटमा पुर्याइन् ।
दोस्रो सेटमा अप्रत्याशित रूपमा चुकेकी नोस्कोभाले निर्णायक सेटमा भने आफूलाई सम्हालिन् । उनले तेस्रो सेट ६–३ ले जित्दै ऐतिहासिक उपाधि पक्का गरिन् ।
‘यो अविश्वसनीय महसुस भइरहेको छ । शारीरिक र मानसिक रूपमा निकै कठिन थियो । अन्तिम अंक जित्न कहिल्यै सजिलो हुँदैन’ नोस्कोभाले जितपछि भनिन् ।
उपाधि जितेपछि नोस्कोभा भावुकसमेत बनिन् । उनले दुई वर्षअघि विम्बल्डन सुरु हुनुभन्दा एक दिनअघि निधन भएकी आफ्नी आमा इभानालाई सम्झिइन् ।
‘म अझै एक व्यक्तिलाई धन्यवाद दिन चाहन्छु । म मेरी आमालाई धन्यवाद दिन चाहन्छु । उहाँबिना म आज यहाँ हुने थिइनँ’ उनले भनिन् ।
त्यसपछि नोस्कोभाले आकाशतर्फ फर्किएर चुम्बन पठाउँदा सेन्टर कोर्टमा उपस्थित दर्शकले उठेर सम्मान व्यक्त गरेका थिए ।
पहिलो पटक विम्बल्डन फाइनल खेलेकी नोस्कोभाले दोस्रो सेटमा ठूलो दबाब झेले पनि निर्णायक समयमा पुनरागमन गर्दै आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो उपाधि जितिन् ।
प्रतिक्रिया 4