३१ असार, काठमाडौं । कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले उनीमाथि बल प्रयोग गर्दै धरपकड गरेको थियो । सोही क्रममा उनी घाइते भएका थिए । प्रहरी हिरासतमा स्वास्थ्य अवस्था सामान्य नरहेपछि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारपछि शिक्षण अस्पतालले माजिदलाई बुधबार डिस्चार्ज गरेको हो । सोही क्रममा राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा उनी प्रहरीबाट पनि हिरासतमुक्त भएका छन् ।
बाँकी कानुनी उपचार प्रक्रिया र यातनाविरुद्धको हकको लागि अगाडि बढ्ने माजिदका कानुन व्यवसायीले बताएका छन् । त्यसका लागि मानव अधिकार आयोगको प्रतिवेदनअनुसार अगाडि बढ्ने उनीहरूको भनाइ छ ।
यसअघि माजिदमाथि भएको धरपकड र कुटपिटविरुद्ध सडकदेखि सदनसम्म, मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज र जेनजी अभियन्ताको दबाब दिँदैआएका थिए ।
माजिदको उपचारमा लागेका सम्पूर्ण खर्च पनि परिवारले नै बेहोरेको परिवारस्रोतले बतायो ।
प्रतिक्रिया 4