+
+
Shares

धनकुटामा १६६ जनालाई घरमै राहदानी वितरण

श्रेष्ठका अनुसार हालसम्म ८ पटकमा १ सय ६६ जनाले घरमै राहदानी सेवा लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाका सातवटै स्थानीय तहमा सरकारले घरमै राहदानी वितरण गर्ने सेवा सुरु गरेको छ ।
  • जिल्ला हुलाक कार्यालय र प्रशासनको समन्वयमा हालसम्म १६६ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
  • यो व्यवस्थाले सेवाग्राहीको सदरमुकाम धाउने समय र खर्च दुवैको बचत भएको छ ।

७ साउन, धनकुटा । धनकुटाका ७ वटै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो ।

सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत सबै स्थानीय तहमा सेवा पुगेको जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार हालसम्म ८ पटकमा १ सय ६६ जनाले घरमै राहदानी सेवा लिएका छन् ।

जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले घरमै राहदानी सेवा विस्तार गरेको थियो ।

विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता कम गर्न सेवा प्रभावकारी बनेको स्थानीयले बताएका छन् ।

गत १४ वैशाखमा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच घरमै राहदानी पुर्‍याउन सम्झौता भएको र १ जेठदेखि घरमै राहदानी सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १ सय ६६ वटा घरमै पुगेर वितरण गरिएको र ३ जनाले सुरुमा ठेगाना दर्ता गरेकामा जिल्ला प्रशासन कार्यालयबाट बुझिलिएको उनको भनाइ छ ।

हुलाकमार्फत घरमै राहदानी पुगेपछि समय र खर्च दुवै बचत भएको सेवाग्राहीको अनुभव छ ।

यसअघि राहदानी तयार भएपछि लिनका लागि पुन: जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो । तर, अहिले हुलाक सेवा विभागले जिल्ला प्रशासन कार्यालयसँग सम्झौता गरी स्थानीय तहसँग समन्वय गरी नागरिकको घरमै राहदानी पुर्‍याउने व्यवस्था मिलाएको जिल्ला हुलाक कार्यालयलका प्रमुख श्रेष्ठले बताए ।

ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सेवा थप प्रभावकारी बनाइने योजनामा रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पुष्पलाल धमलाले जानकारी दिए ।

सरकारले नागरिकको घरमै राहदानी र नागरिकता पुर्‍याउने योजना बनाए पनि नागरिकता भने सेवाग्राहीले आएर विवरण बुझाएको केही समयमै पाउने भएकाले हुलाकको प्रयोग गरिरहन नपरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका कर्मचारी सुवास कटेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?