+
+
Shares

कृषिको यान्त्रीकीकरणमा जापानको सहयोगबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र जापानी राजदूत मायदा तोरुबीच कृषि क्षेत्रमा द्विपक्षीय सहकार्य, प्रविधि हस्तान्तरण र जापानी लगानी बढाउने विषयमा छलफल भएको छ।
  • मन्त्री चौधरीले नेपालको कृषि विकासमा जापानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै बागवानी, तरकारी र फलफूलको मूल्य शृङ्खला विकासमा प्राप्त सहयोगको महत्त्वबारे उल्लेख गरिन्।
  • नेपालमा व्यवस्थित क्षेत्रीय कृषि बजार, आधुनिक दुग्ध प्रशोधन प्लान्ट, बिउबिजन उत्पादन तथा धान खेतीमा यान्त्रीकीकरणका लागि जापानी प्रविधि र सहयोग आवश्यक रहेको मन्त्री चौधरीले बताइन्।

७ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा नेपाल र जापानबीच कृषि क्षेत्रमा सहकार्य बढाउने, जापानी लगानी भित्र्याउने, प्रविधि हस्तान्तरण गर्ने र अनुसन्धानलाई बलियो बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री चौधरीले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखिको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै यस वर्ष मनाइँदै गरेको ७०औं वर्षगाँठले सम्बन्धलाई थप बलियो बनाएको बताइन् ।

गत फेब्रुअरीमा राष्ट्रपतिको जापान भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै उनले जापान सरकारलाई धन्यवाद दिइन् ।

सन् १९५४ देखि नेपालको विकासमा जापानले गरेको योगदानको प्रशंसा गर्दै चौधरीले बागवानी, तरकारी र फलफूलको मूल्य शृङ्खला विकासमा पाएको सहयोगको मूल्यांकन गरिन् ।

गण्डकी प्रदेशमा सञ्चालित ‘गण्डकी सेप’ परियोजना र कोशी प्रदेशको बिउबिजन सुधार परियोजनाले कृषिमा सकारात्मक परिवर्तन ल्याएको भन्दै उनले जापान सरकार र जाइकालाई धन्यवाद दिइन् ।

भेटमा मन्त्री चौधरीले नेपालमा व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण, आधुनिक दुग्ध प्रशोधन प्लान्ट स्थापना, बिउबिजन उत्पादन, जैविक विषादी र मल उत्पादनमा जापानी लगानी र प्रविधि आवश्यक रहेको बताइन् । यसमा सहयोग गर्न उनले राजदूतसँग विशेष पहलको अपेक्षा गरिन् ।

यसबाहेक कृषि अनुसन्धान, कृषि पढ्दै गरेका युवाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम, धान खेतीमा यान्त्रीकीकरण र ‘प्रिसिजन फार्मिङ’ जस्ता आधुनिक प्रविधिमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?