News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बार एशोसिएसनले संवैधानिक इजलास गठनमा परम्परा र वरिष्ठताक्रमको पालना नभएको भन्दै विरोध गरेको छ ।
- बारले संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित वरिष्ठतम न्यायाधीश रहने वा गोलाप्रथाद्वारा न्यायाधीश छनोट गर्नुपर्ने माग राखेको छ ।
- न्यायपालिकाप्रति जनआस्था बढाउन भन्दै बारले सर्वोच्च अदालतको पूर्ण बैठकबाट यस विषयमा निकास खोज्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ ।
१४ साउन, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले परम्परा र मान्यता विपरीत संवैधानिक इजलास सञ्चालन भएको भन्दै विरोध गरेको छ ।
नेपाल बार एशोसिएसनको कार्यसमिति सहित सल्लाहकारहरूको बैठकले संवैधानिक इजलासमा बारको पूर्ववत् धारणा यथावत रहेको स्पष्ट पारेको हो ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश सहित वरिष्ठतम न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन गर्न माग गरेको छ । त्यसो हुन नसके रोष्टरमा रहेका न्यायाधीशहरूबीच गोला प्रक्रियाबाट संवैधानिक इजलासमा न्यायाधीशहरू तोक्नुपर्ने भनेको हो ।
अहिले प्रधानन्यायाधीश डा. मनोज शर्माले आफ्नै हिसावले संवैधानिक इजलासका चार न्यायाधीशहरू छानिरहेका छन् । त्यसक्रममा वरिष्ठताक्रम पालना भएको छैन भने न्यायाधीश छान्न गोला प्रक्रिया पनि सुरु भएको छैन । बारले न्यायपालिकाप्रति जनआस्था बढाउन समेत त्यो आवश्यक रहेको दावी गरेको छ ।
प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइरहेको बारले सर्वोच्च अदालतको पूर्ण बैठकबाट आवश्यक निकास दिन समेत माग गरेको छ ।
सर्वोच्च अदालतमा सुरुवातदेखि नै प्रधानन्यायाधीशले न्यायाधीशहरूको वरिष्ठताक्रम अनुसार संवैधानिक इजलास गठन गर्ने अभ्यास थियो । तर पछि चोलेन्द्रशमशेर जबराले वरिष्ठताक्रम तोडेर आफूखुसी न्यायाधीशहरू चयन गर्न थालेका थिए ।
कानुन व्यवसायीहरूको आन्दोलनपछि फेरि संवैधानिक इजलासमा बरिष्ठताक्रम नै कायम रहने सहमति भएको थियो ।
गत वर्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले केही समय वरिष्ठताक्रम तोडेका थिए । डा. मनोज शर्मा प्रधानन्यायाधीश भएपनि उनले संवैधानिक इजलासको रोष्टरमा रहेका न्यायाधीशहरूमध्येबाट आफूखुसी न्यायाधीश चयन गर्दै आएका छन् ।
प्रतिक्रिया 4