News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए।
- मन्त्री पोखरेलले बालाजु र कीर्तिपुरका प्रभावित विद्यार्थीलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित पठनपाठनको व्यवस्था मिलाइएको जानकारी राष्ट्रियसभामा दिए।
- खरिपाटी, बोडे र इचङ्गुमा रहेका ५९ जना विद्यार्थीलाई आवासीय सुविधा, स्टेशनरी, खाजा तथा आवश्यक शैक्षिक सामग्रीसहित भर्ना गराइएको उनले बताए।
१५ साउन, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए ।
मन्त्री पोखरेलले बालाजुस्थित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा श्री बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा स्थानान्तरण गरिएको बताए ।
उनका अनुसार कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा रहेका १० जना बालबालिकालाई प्याब्सन काठमाडौं महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको छ ।
मन्त्री पोखरेलले खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइएको जानकारी दिए । उनीहरूका लागि विद्यालय आवतजावतका लागि सवारी सुविधा, खाजा, टिफिन बक्स, विद्यालय पोसाक, झोला, स्टेशनरी, पानीको बोतल तथा सरसफाइका सामग्री उपलब्ध गराइएको छ भने खेलकुद सामग्रीसमेत वितरण गरिएको मन्त्री पोखरेलको भनाइ छ ।
गत असार २९ गते खरिपाटी र बोडे होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित बालबालिकाका लागि आवश्यक थप व्यवस्थाको निर्देशन दिइएको पनि जानकारी दिए ।
प्रतिक्रिया 4