News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाले नेपाली शेर्पाहरूलाई विश्व मञ्चमा आरोही तथा नेतृत्वकर्ताका रूपमा स्थापित गरी नेपालको पर्वतारोहण उद्योगको पहिचान नै परिवर्तन गरिदिएका छन्।
- निर्मल पुर्जाले साहसिक पर्यटनका नयाँ मानक स्थापित गर्दै विश्वका धनाढ्य पर्यटकलाई नेपाल भित्र्याउने र नेपालको ब्रान्ड भ्यालु बढाउने कार्यमा विशिष्ट योगदान पुर्याएका छन् ।
- पुर्जाको फाउन्डेसनले पर्वतारोहीका लागि लोबुचेमा स्तरीय लज निर्माण गर्नुका साथै कोभिड र प्राकृतिक विपद्मा सामाजिक उत्तरदायित्व बहन गर्दै नेपालको छवि उच्च राखेका छन् ।
१७ साउन, काठमाडौं । ‘नेपाली शेर्पालाई आरोही नै मान्दैनथे, भरिया मात्रै मान्थे र शेर्पाहरू गुमनाम भरिया थिए । निम्स दाइले नेपाली शेर्पालाई आरोही बनाए, हिरो बनाए, हामी शेर्पाहरूको भाउ बढाइदिए । हामी शेर्पाले ७५ वर्षमा गर्न नसकेको काम ५–६ वर्षमा गरेर देखाइदिए,’ निर्मल पुर्जा (निम्स दाइ) बारे उनी निकट एक आरोहीले नाम उल्लेख नगर्ने सर्तमा अनलाइनखबरलाई भने ।
वास्तवमा सात वर्षअघि सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल ६ महिनामा सफल आरोहण गरेर संसारभरि सनसनी मच्चाएका निम्स दाइले नेपाली शेर्पा र नेपालको पर्वतारोहण उद्योगमा खास के काम गरे, जसले विश्व पर्यटनको मानचित्रमा नेपाली आरोहण उद्योगको पहिचान नै बदलिदियो ?
निम्स दाइ विश्वविख्यात आरोही थिए, आरोहणका अनेक रेकर्ड राखेका थिए । तर, उनको पहिचान त्यसभन्दा पनि उँचो थियो । उनले नेपालको साहसिक पर्यटनमा नयाँ मानक स्थापित गरेका थिए जसले विश्वका अनेकौं खर्चालु र हाइप्रोफाइल क्लाइन्टलाई सगरमाथा लगायत हिमाल आरोहण गराएका थिए ।
निम्स दाइका एक सहकर्मी भन्छन्, ‘उनले नेपाल ल्याएका कतिपय आरोही सगरमाथाको बेस क्याम्पमा काठमाडौंबाट हेलिकप्टरमा पिज्जा मगाएर खान सक्नेसम्म क्षमताका थिए ।’
निम्स दाइले कतारकी राजकुमारी शेख आश्मा अल थानी लगायत धेरै हाइप्रोफाइल आरोहीलाई सफल आरोहण गराएर योगदान गरेका थिए ।
हिमाल आरोहणमा जाँदा सामान्यतया आरोहण टोलीहरू एक क्याम्पदेखि अर्को क्याम्प चढ्दै–झर्दै (एक्लिमटाइज) गर्छन् । यसो गर्नुको उद्देश्य हिमालसँग अभ्यस्त हुनु र अझ उचाइमा जान आत्मविश्वास बढाउनु पनि हो ।

एक व्यक्ति हिमाल आरोहणमा जाँदा शारीरिक रूपमा दुरुस्त हुनुका साथै धैर्य, आत्मविश्वासले भरिपूर्ण हुनु अनिवार्य छ । त्यसअघि आर्थिक रूपमा समेत यो निकै खर्चिलो शोख हो । एक आरोहीलाई चुचुरोसम्म लैजान धेरै जनशक्तिले रोजगारी पाएका हुन्छन् ।
यसमार्फत मुलुकले प्रत्यक्ष, अप्रत्यक्ष लाभ प्राप्त गर्छ । निम्स दाइले यही सम्भावना मार्फत मुलुकको समृद्धि होस् भन्ने चाहन्थे । निम्स दाइ संस्थापक रहेको एलिट एक्सपिडिसनले आरोहण अभियान सञ्चालन गर्छ । निम्स दाइ आफैं यसको नेताका रूपमा फिल्डमा खटिन्थे ।
६ महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढेर अद्भुत क्षमता देखाएका उनको कम्पनीलाई पर्यटकहरू अझ बढीे भरोसा गर्थे । त्यसअघि यस्तो रकेर्ड किम चाङ होको नाममा थियो, तर उनले ७ वर्ष १० महिना लगाएर त्यो रेकर्ड राखेका थिए । हुन त निम्स दाइको त्यो रकेर्ड पनि तोडिइसकेको छ । तर, असम्भवलाई सम्भव तुल्याएका कारण उनको चर्चा संसारभरि फैलियो ।
आरोहण आफैंमा साहसिक काम हो । तर, निम्स दाइको छवि साहसीमध्ये पनि साहसी आरोहीका रूपमा बन्यो । उनले त्यो छविलाई नेपाली पर्यटन उद्योगको ‘ब्रान्ड भ्यालु’ बढाउन प्रयोग गरेको निम्स दाइका पारिवारिक मित्र तथा काठमाडौं म्यारिअट होटलका संस्थापक शशिकान्त अग्रवाल बताउँछन् ।

‘सगरमाथा लगायत हिमाल आरोहण गर्ने प्रिमियम आरोहीहरू विदेशी ट्रेकिङ एजेन्सी मार्फत आउने गर्थे, निम्स दाइले यो व्यवसाय सुरु गरेपछि अहिले त्यो अवस्था फेरिएको छ, उनले नै धेरै भीआईपी पर्वतारोहीलाई आरोहणका लागि ल्याउने गरेका थिए,’ अग्रवाल सम्झन्छन् ।
‘उहाँले हाई प्रोफाइल पर्वतारोहीलाई नेपाल ल्याएर मात्रै होइन, स्काई डाइभिङ जस्ता अन्य साहसिक गतिविधि गराएर तथा निम्सदाइ ब्रान्डमा ‘एक्सपिडिसन गियर’ हरू उत्पादन र बजारीकरण गरेर पनि नयाँ मानक बनाएको अग्रवाल बताउँछन् ।
त्यतिमात्र होइन, निम्स दाइले आफ्नो आरोहण अभियानलाई दृष्यमा उतारेर डकुमेन्ट्री समेत बनाउने गर्थे । यसले नेपाल र हिमालको प्रचार–प्रसारमा ठूलो भूमिका खेलेको नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन् ।
उनी भन्छन्, ‘निम्स दाइले नेपाललाई नयाँ उचाइमा पुर्याउनुभयो, एउटा पुस्तालाई असम्भवलाई चुनौती दिन सिकाउनुभयो ।’
निम्स दाइले काठमाडौंमा ‘निम्सदाइ स्टोर’ सञ्चालन गरेका छन् । काठमाडौं म्यारिअट होटल परिसरमा रहेको यो स्टोरमा एक्सपिडिसन गियर खरिदका लागि मात्रै होइन, हेर्नका लागि मात्रै पनि नेपाल आउने हरेकजसो आरोही पुग्ने गरेको जानकार बताउँछन् ।

उनले आफ्नो स्टोरमा हिमाल आरोहणमा प्रयोग हुने सबै प्रकारका सामान उपलब्ध गराउने गरेका थिए । तीन वर्षअघि आफ्नो ब्रान्ड लन्च गर्दा निम्स दाइले भनेका थिए, ‘वर्षौंको आरोहणमा रहने अनुभवका आधारमा यी प्रडक्ट विकास गरिएको हो ।’
निम्स दाइले यी सामान बिक्रीबाट प्राप्त हुने रकमको ५ प्रतिशत निम्स दाइ फाउन्डेसनमा जाने व्यवस्था मिलाएका छन् । यसमार्फत उनी सामाजिक उत्तरदायित्वमा रकम खर्च गर्थे । यस फाउन्डेसनले कोभिड महामारी तथा पाकिस्तान बाढीमा सहयोग गरेको छ । भूकम्पका समयमा समेत फाउन्डेसनले सक्रिय सहयोग गर्दै आएको छ । सगरमाथा सरसफाइमा पनि काम गरेको छ ।
हालै सगरमाथा आधार शिविर जाने पदमार्गमा पर्ने लोबुचेमा पोर्टर्स लज निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ । ‘यसअघि लोबुचेसम्म आरोहीलाई छाडी भरियाहरू दुई घण्टा तल झरेर सुत्नुपर्ने बाध्यता थियो । निम्सदाई फाउन्डेसनको अग्रसरतामा निर्माण भएको यो स्तरीय लजले अब त्यस भेगमा पुग्ने भरियालाई निकै ठूलो राहत पुगेको छ,’ ती आरोहीले भने ।

पछिल्लो समय निम्स दाइ हेलिकप्टर व्यवसायमा समेत प्रवेश गरेका थिए । वायुसेवा सञ्चालक संघ अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार उनी मुस्ताङ एयर प्रालिका अध्यक्ष समेत हुन् ।
संघले उनलाई ‘राष्ट्रका गहना’ भनेको छ । ईश्वर लामिछानेको एकल स्वामित्व रहेको मुस्ताङमा उनले ५३ प्रतिशत सेयर स्वामित्व लिएर यो व्यवसायमा प्रवेश गरेका थिए ।

निम्स दाइको ‘बियोन्ड पसिबल’ नामक पुस्तक प्रकाशन भएको छ, जुन विभिन्न अन्तर्राष्ट्रिय भाषामा समेत प्रकाशित भइसकेको छ । पुस्तकका माध्यमबाट उनले आफ्नो पहिचान समेत स्थापित गराएनन्, नेपाल प्रवर्द्धनको एक माध्यम समेत यो पुस्तक बनेको छ ।
‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री नेटफ्लिक्समा सार्वजनिक गर्दै उनले इन्टरनेटको संसार मार्फत नेपाल र आरोहण प्रवर्द्धनलाई नयाँ उचाइ दिएका थिए । निम्स दाइकै अगुवाइमा सन् २०२१ मा भएको माउन्ट केटु आरोहणको अर्को डकुमेन्ट्री समेत सार्वजनिक गर्ने तयारी छ ।
निम्स दाइले नेपाल सहित विश्वका अन्य गन्तव्यमा प्रवर्द्धन गरेको प्रडक्ट स्काइडाइभिङ समेत हो । उनको कम्पनीले स्काइडाइभिङसँगै यसका लागि तालिम कार्यक्रम समेत सञ्चालन गर्छ ।
स्काइडाइभ निम्सदाइ डटकमका अनुसार बोलिभिया, एभरेस्ट, पोखरा लगायतमा स्काइडाइभ सञ्चालन गरिन्छ । निम्स आफैंमा तालिमप्राप्त स्काइडाइभर थिए । उनी यूके स्पेसल फोर्समा रहँदा नै आफूलाई दक्ष बनाएका थिए ।
तीन वर्षअघि आफैंले स्काइडाइभ गरी प्रडक्ट लन्च गर्दा उनले नेपालको अतुलनीय सुन्दरता विश्वलाई देखाउने लक्ष्यसहित स्काइडाइभ सुरु गरेको बताएका थिए ।
‘अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनमा नेपालीको योगदान विशाल छ, तर उनीहरूको क्षमताको प्रचार अहिलेको जस्तो उचाइमा पुग्न सकेको थिएन,’ जोशीले भने, ‘नेपालीहरू हिमालका सहयोगी होइनन्, लिडर हुन् भन्ने निम्स दाइले नै स्थापित गरे ।’
नेपालमा के चाहन्थे निम्स दाइ ?
पर्वतारोहण सुरक्षित, व्यवस्थित र सम्मानजनक होस् भन्ने निम्स दाइको चाहना थियो । जोशीका अनुसार हरेक भेटमा उनी नेपालको पर्वतीय पर्यटनलाई अझ उचाइमा लैजानेबारे चिन्तित देखिन्थे ।
नेपाली गाइड र पर्वतारोहीको अन्तर्राष्ट्रिय ब्रान्ड स्थापित बनाउने, हिमाली पर्यटनलाई वर्षभरि चलायमान बनाउने र नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने उनको चाहना थियो ।

त्यही उत्साहबीच उनको एक पीडा थियो । त्यो हो– नेपालका कठोर, ढिलो र परम्परागत प्रशासनिक संरचना । यसले उनलाई पटक–पटक निराश बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा तुरुन्तै गर्न सकिने सुधार किन वर्षौं अल्झिन्छन् ? किन विश्वले नेपालबाट अपेक्षा गरेको परिवर्तन हामी आफैं ढिलो गर्छौं ? जस्ता सवाल उनले निरन्तर उठाइरहे ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार पाकिस्तान जानुअघि निम्स दाइ उनको कार्यकक्षमा आएका थिए । त्यसबेला उनले भनेका थिए, ‘नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण बनाऊ, नेपालमा साहसिक खेलकुद पर्यटन तथा पर्वतीय पर्यटनको विषयमा अपार सम्भावना छ ।’
सोही सम्भावनाबारे निम्स दाइले विस्तारमा बताएको समेत लम्सालले स्मरण गरेका छन् । सगरमाथा क्षेत्रमा अफ–सिजनमा हेलिकप्टर मार्फत पुग्नसमेत कठिन हुने अवस्था रहेको उल्लेख गर्दै उनले पर्यटक वर्षभरि नै सुरक्षित रूपमा पुग्न सक्ने पूर्वाधार निर्माणमा जोड दिएका थिए । काठमाडौंलाई सगरमाथासँग जोड्ने सुरक्षित सडक निर्माण गर्नुपर्ने निम्स दाइको दृष्टिकोण थियो ।

मन्त्री लम्सालले लेखेका छन्, ‘हजुरले देख्नुभएको त्यही दुरदर्शी सोच आत्मसात गर्दै नेपाल सरकार काठमाडौं–सगरमाथा जोड्ने सुरक्षित सडक निर्माणको दिशामा समेत अघि बढ्ने छ । हजुरले देखाउनुभएको समृद्ध, सहज र विश्वस्तरीय पर्यटन गन्तव्य बनाउने सपना साकार पार्न हामी प्रतिबद्ध छौं ।’
निम्स दाइले नेपाल ‘ब्याकप्याकर’ मात्र होइन, संसारका धनाढ्यहरूको समेत लोकप्रिय गन्तव्य बन्न सक्छ भन्ने सम्भावनाको ढोका खोले तर आफू भने पाकिस्तानको ब्रोड पिकमा अस्ताए । निम्स दाइप्रति सच्चा श्रद्धाञ्जली त्यसबेला हुनेछ, जब नेपालले उनले देखाएका सम्भावनालाई अझै ठूलो वास्तविकतामा परिणत गर्ने छ ।
अलबिदा निम्स दाइ !
प्रतिक्रिया 4