+
+
Shares

कांग्रेस विवाद : संस्थापनको ७ बुँदे र असन्तुष्ट समूहको ५ बुँदे प्रस्तावमा कहाँ मिलेन लय ?

संस्थापन पक्षको सातबुँदे र इतर समूहको पाँचबुँदे प्रस्तावबीच केही विषयमा समान धारणा देखिए पनि महाधिवेशनको कार्यतालिका, विभाग गठन, निर्णय प्रक्रियालगायतका निर्णायक राजनीतिक मुद्दामा सहमति जुट्न सकेको छैन ।

केशव सावद केशव सावद
२०८३ साउन १८ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसमा संस्थापन र इतर समूहबीच आन्तरिक विवाद चुलिँदा पार्टी औपचारिक विभाजनको संघारमा पुगेको देखिएको छ ।
  • दुवै पक्षले केन्द्रीय समितिको संरचना, शक्ति बाँडफाँट र क्रियाशील सदस्यता व्यवस्थापनमा फरक-फरक प्रस्ताव अघि सारेका छन् ।
  • अदालतमा मुद्दा विचाराधीन रहेकाले वार्ता समिति गठन गर्नु उपयुक्त नहुने निष्कर्ष इतर समूहले निकालेको छ ।

१८ साउन, काठमाडौं । पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको देखिएको छ ।

संस्थापन र संस्थापन इतर समूह दुवै आफ्ना–आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि विवाद थप जटिल बन्दै गएको छ ।

संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाका लागि मूल आयोजक समिति गठन गरी तयारीलाई तीव्रता दिएसँगै कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको देखिएको छ ।

राष्ट्रिय भेला सुरु हुनुअघि कुनै नाटकीय राजनीतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए पार्टी विभाजनले औपचारिक रूप लिने सम्भावना बलियो बन्दै गएको छ ।

आन्तरिक विवाद समाधानका लागि संस्थापन र इतर समूहबीच पटक–पटक संवाद भएपनि दुवै पक्षले अघि सारेका प्रस्तावमा सहमति जुट्न सकेको छैन ।

उपसभापति विश्वप्रकाश शर्माले विवाद समाधानका लागि सात बुँदे प्रस्ताव अघि सारेका थिए । त्यसको प्रत्युत्तरमा संस्थापन इतर समूहले पाँचबुँदे प्रस्ताव संस्थापनसमक्ष प्रस्तुत गरेको थियो ।

संस्थापन पक्षको सातबुँदे र इतर समूहको पाँचबुँदे प्रस्तावबीच केही विषयमा समान धारणा देखिए पनि महाधिवेशनको कार्यतालिका, विभाग गठन, निर्णय प्रक्रियालगायतका निर्णायक राजनीतिक मुद्दामा सहमति जुट्न सकेको छैन ।

संस्थापन र इतर समूहबीच मुख्य मतभेद के हो ?

सात बुँदे प्रस्तावमा विशेष महाधिवेशनलाई अन्तिम रूपमा स्वीकार गरेर विगतका विवाद बिर्सँदै एकताबद्ध भएर अघि बढ्ने, क्रियाशील सदस्यता अध्यावधिक निर्धारित समयभित्र गर्ने, महाधिवेशन व्यवस्थापनका विभिन्न समितिमा सम्मानजनक सहभागिता सुनिश्चित गर्ने र केन्द्रीय समिति तथा भ्रातृ संस्थामा जिम्मेवारी बाँडफाँट गर्ने प्रस्ताव गरिएको थियो ।

तर, इतर समूहले संस्थापन पक्षलाई पाँच बुँदे जवाफ पठाएर नेतृत्वको संरचना, कार्यसम्पादन समितिको बहुमत, महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताको व्यवस्थापनलाई केन्द्रमा राखेर फरक अडान राखेको थियो ।

संस्थापन र इतर समूहको प्रस्तावमा मुख्य मतभेद केन्द्रीय कार्यसमितिको संरचनामा देखिएको छ । शर्माको प्रस्तावमा केही अग्रज नेता तथा जिम्मेवारी चाहने नेताहरूलाई केन्द्रीय समितिमा सम्मानजनक रूपमा समेट्ने उल्लेख थियो ।

तर, इतर समूहले १४औं महाधिवेशनको कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गरेर सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने सर्त अघि सारेको छ ।

दुई समूहबीच कार्यसम्पादन समितिको शक्ति सन्तुलनमा पनि कुरा नमिलेको देखिएको छ । सात बुँदे प्रस्तावले कार्यसम्पादन समितिमा ‘सम्मानजनक सहभागिता’ को कुरा गरेको छ ।

तर, पाँच बुँदे प्रस्तावमा सभापति थापाको स्पष्ट बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने माग गरिएको छ । यही विषय शक्ति बाँडफाँटको प्रमुख विवाद बनेको देखिन्छ ।

सात बुँदे र पाँच बुँदे प्रस्तावअनुसार दुई समूहबीच क्रियाशील सदस्यतामा सबैभन्दा ठूलो मतभेद देखिएको छ । उपसभापति शर्माले निर्धारित समयभित्र क्रियाशील सदस्यता अध्यावधिक गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

तर, इतर समूहले सदस्यता अद्यावधिकलाई महाधिवेशनमा सहभागी हुने अधिकारसँग जोड्न नहुने, सभापति थापा महामन्त्रीको हैसियतमा हुँदा टुंग्याइएका सबै क्रियाशील सदस्यलाई स्वतः सहभागी गराउनुपर्ने र डिजिटल इन्ट्रीलाई केवल अभिलेखीकरणका रूपमा लिनुपर्ने अडान राखेको छ ।

‘मध्यमार्गी’ भूमिकामा रहेका भनिएका नेता डा. शेखर कोइरालाले संस्थापन समक्ष राखेको छुट्टै पाँच बुँदे प्रस्तावमा पनि क्रियाशील सदस्यताको विषयलाई मुख्य आधार बनाइएको छ ।

उनले पनि क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य नगरी १४ औं महाधिवेशनपछि वितरण तथा नवीकरण भएका सदस्यताकै आधारमा १५ औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

महाधिवेशनको तयारीका लागि गठन भएका समितिहरूमा हुने सहभागिताको विषयमा पनि दुई समूहबीच फरक मत देखिएको छ । संस्थापनले निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिताको प्रस्ताव गरेको थियो ।

इतर समूहले भने ती समितिहरूमा संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्नुपर्ने माग गरेको थियो । शेखर कोइरालाले भने सबै समिति आपसी सहमतिबाट मात्रै गठन हुनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

यस्तै सात बुँदे र पाँच बुँदेमा पार्टीको १५औं महाधिवेशनको कार्यतालिकाको विषयमा पनि फरक–फरक विषय उल्लेख थियो । सात बुँदे प्रस्तावमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने उल्लेख भए पनि महाधिवेशनको मिति वा कार्यतालिकाबारे स्पष्ट व्यवस्था उल्लेख थिएन ।

तर, इतर समूहले पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै १५औं महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने सर्त राखेको थियो । ‘पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने,’ पाँच बुँदे प्रस्तावको तेस्रो बुँदमा भनिएका थियो ।

के छ संस्थापनको सात बुँदे प्रस्ताव

१) विधानको १७ (२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अधावधिक अनि सम्मानित सर्वोच्च अदालतले अन्तिम छिनोफानो गरिसकेको यथार्थ आत्मसात गर्दै विमतिका सबै विषय बिर्सिएर एकताबद्ध भएर अघि बढ्ने ।

तर विशेष अधिवेशनको प्रक्रिया र परिणाम उपरको विमतीलाई आफ्नो राजनैतिक एजेण्डाका रूपमा १५ औं महाधिवेशनको बन्दसत्रमा मौखिक/लिखित दुवै रूपमा प्रस्तुत गर्न सकिने ।

विशेष महाधिवेशनमा सहभागी रहेको या नरहेको आधारमा पार्टीका कुनै पनि सदस्यलाई फरक कोणबाट नहेर्ने, फरक व्यवहार नगर्ने ।

२) महाधिवेशन तयारी क्रमको पहिलो चरण क्रियाशील सदस्यता अधावधिक गर्ने प्रक्रियालाई निर्धारित समयभित्र पूरा गर्ने ।

(पार्टी विधानमा विगतदेखि नै रहेकोे यस सम्बन्धी व्यवस्थाबारे रहेका अष्पस्टतालाई स्पष्ट गरेर अघि बढ्ने)

३) पार्टीमा लामो समय योगदान गर्नुभएका अग्रज नेताहरू मध्येबाट केही अग्रजलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा सम्मानित भूमिकामा स्थापित गर्ने ।

४) विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका साथीहरू मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई केन्द्रीय समितिमा निश्चित संख्यामा सम्मानपूर्वक जिम्मेवारी प्रदान गर्ने । कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता रहने ।

(तर महाधिवेशनमा स्वतः भाग लिन पाइने परम्परा अन्त्य गरी केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाट नै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने ।)

५) पन्ध्रौं महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य गर्ने ।

६) केन्द्रीय समितिको अंग रहनेगरी बैठकबाट १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने ।

७) भ्रातृ र शुभेच्छुक संस्थाहरुको केन्द्रीय समितिमा कार्य गर्न इच्छुक साथीहरूलाई सभापति नै अथवा पदाधिकारी या उहाँहरुको चाहना र योग्यता अनुरुपको जिम्मेवारी प्रदान गर्ने ।

के छ इतर समूहले संस्थापनलाई पठाएको पाँच बुँदे जवाफ ?

१) चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

२) सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने ।

३) पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।

४) वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।

५) महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औं महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।

उपसभापति शर्माले १६ जेठमा इतर समूहको नेतृत्व गरिरहेका पूर्वउपसभापति पूर्णबहादुर खड्कासमक्ष सात बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए ।

उपसभापति शर्माले ३० जेठमा ह्वाट्सएपमार्फत इतर समूहका अन्य शीर्ष नेताहरूलाई सात बुँदे प्रस्ताव पठाएका थिए ।

त्यसअघि नेता खड्काले २४ जेठमा फेसबुकमा विवाद समाधानका लागि कुनै संवाद नभइरहेको सन्देश जारी गरेका थिए ।

त्यसपछि २६ जेठमा शर्माले अग्रज नेताहरूलाई जानकारी दिन र छलफल सहज होस् भन्ने अपेक्षासहित सात बुँदा ह्वाट्सएपमार्फत पठाएका थिए ।

तर, इतर समूहले ३ साउनमा संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको थियो ।

‘पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरहरूले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेर एकतालाई असहज बनाए भनि चलाएका बजार हल्लाहरू निराधार, मिथ्या र भ्रामक छन्,’ चुनदेवी बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको थियो ।

विज्ञप्तिमा उपसभापति शर्माले ह्वाट्सएपमार्फत शीर्ष नेताहरू पठाएको सात बुँदे प्रस्तावको जवाफ १८ जेठमै पठाइसकिएको दाबी पनि गरिएको थियो ।

‘पार्टी उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत निवर्तमान कार्यवाहक सभापतिलाई पठाएका प्रस्तावहरू माथि नै हामीले २०८३ जेठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमति गर्न सकिने किसिमका प्रस्तावहरू सहित जवाफ पनि दिएका हौं,’ विज्ञप्तिमा उल्लेख थियो ।

यस्तै नेता शेखर कोइरालाले पार्टी एकताका लागि अघि सारेको पाँच बुँदे प्रस्ताव सचिवालयले ११ जेठमा सञ्चारमाध्यमहरूलाई उपलब्ध गराएको थियो ।

यस्तो थियो शेखर कोइरालाको छुट्टै प्रस्ताव

१. १५औं महाधिवेशनको लागि क्रियाशील सदस्यता अध्यावधिकलाई अनिवार्य नगर्ने ।

२. १४औं महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औं महाधिवेशन गर्ने ।

३. १४औं महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।

४. कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने ।

५. निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने ।

तर, संस्थापन पक्षीय एक शीर्ष नेताले पार्टीको आन्तरिक विवाद समाधानका लागि नेता कोइरालाले गरेको प्रस्तावमा १४औं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्ताव नरहेको दाबी गरेका छन् ।

ती पदाधिकारीका अनुसार कोइरालाले सभापति थापाको संयोजकत्वमा दुवै समूहबाट सात–सात जना सदस्य रहने गरी महाधिवेशन आयोजक समिति गठन गरिनुपर्ने र केन्द्रीय कार्यसमितिमा कसैलाई पनि मनोनीत गर्न नहुने प्रस्ताव गरेका थिए ।

यस्तै यसअघि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यहरूबाट महाधिवेशन गर्नुपर्ने, वडा अधिवेशन सुरू हुनुभन्दा तीन साता अघिसम्म सदस्यता अद्यावधिक गरिसक्नु पर्ने र विभिन्न समितिहरू आपसी सहमतिबाट मात्रै बनाउनुपर्ने उक्त प्रस्तावमा उल्लेख गरिएको ती नेताले बताए ।

कोइरालाको प्रस्तावप्रति सभापति थापा सकारात्मक देखिएका पनि ती नेताले अनलाइनखबरलाई जानकारी दिए । प्रस्तावपछि सभापति थापाले सहमति जुटाउनका लागि चार सदस्यीय समिति बनाउने र दुवै समूहबाट दुई–दुई जना सदस्य राख्ने जवाफ फर्काएका थिए ।

समिति गठन गरेर संवाद अघि बढाउने प्रयासमा नेता शेखर कोइराला आफ्नो पक्षबाट एक जनाको नाम दिन तयार भएका थिए । तर, खड्का नेतृत्वको समूहले आफ्नो तर्फबाट प्रतिनिधिको नाम दिन अस्वीकार गरेपछि पछिल्लो पहल अघि बढ्न सकेको छैन ।

इतर समूहका नेताहरूका अनुसार सर्वोच्च अदालतमा न्यायिक निरूपणका लागि निवेदन दर्ता भइसकेको अवस्थामा औपचारिक रूपमा वार्ता समिति गठन गर्नु उपयुक्त नहुने निष्कर्षमा उनीहरू पुगेका हुन् ।

‘अदालतमा न्यायिक निरूपणका लागि निवेदन हालिसकेपछि यता फेरि हामी विवाद मिलाउँदैछौं भन्दै औपचारिक वार्ता समिति बनाउन मिल्दैन भन्ने समूहको धारणा हो,’ इतर समूहका एक शीर्ष नेताले भने ।

इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले पनि अदालतको प्रक्रियामा गएको विषयमा समानान्तर रूपमा वार्ता अघि बढाउनु कानुनी, नैतिक र राजनीतिक दृष्टिले उचित नहुने बताए ।

‘पूर्ण दाइ र शेरबहादुर दाइले न्यायिक निरूपणका लागि अन्तिम पुनरावलोकनको निवेदन सर्वोच्च अदालतमा हालिसकेपछि उहाँहरूकै नामबाट फेरि वार्ता गरौं भन्न कानुनी, नैतिक र राजनीतिक रूपमा पनि मिल्दैन,’ उनले भने ।

नेता विश्वकर्माले सभापति थापाले कुनै चमत्कारिक पहल गरेमात्र पार्टीभित्र सहमति सम्भव हुने दाबी गरे ।

‘सभापति गगन थापाले पार्टी मिलाउने कुनै चमत्कारिक निर्णय गर्नुभयो र एकैपटक सहमतिको घोषणा हुने अवस्था बन्यो भने मात्रै पार्टी मिल्न सक्छ । अन्यथा अहिले भइरहेका प्रयासबाट हामी फेरि पहिलेकै अवस्थामा फर्किन्छौं,’ उनले भने ।

यता, कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने नेता कोइरालाबाट आएको भनिएको पछिल्लो प्रस्ताव कार्यान्वयन गर्न धेरै कठिन नभएको प्रतिक्रिया दिए ।

‘हामीले सुनेको पछिल्लो प्रस्तावअनुसार सहमति गर्न खासै गाह्रो छैन,’ उनले भने, ‘त्यो प्रस्तावले असन्तुष्ट सबै पक्षलाई समेट्छ वा समेट्दैन, त्यो म भन्न सक्दिनँ । तर, सामान्य हेरफेर गरेर त्यसलाई कार्यान्वयनतर्फ लैजान सकिन्छ ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?