News Summary
Generated by OK AI. Editorially reviewed.- यमनको लाल सागर तटमा भारतीय झण्डा भएको एमएसी फैजे नूर–ए–औलिया जहाजमाथि हुथी विद्रोहीले आत्मघाती डुंगामार्फत आक्रमण गर्दा जहाज डुबेको छ ।
- आक्रमणमा परेको उक्त जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
- हुथी विद्रोहीको आक्रमणको धम्कीपछि ६ वटा साउदी सुपरट्यांकरले लाल सागरको छोटो मार्ग छोडेर अफ्रिकाको दक्षिणी भाग हुँदै लामो समुद्री मार्ग रोजेका छन् ।
२० साउन, काठमाडौं । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ ।
इरानसमर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत जहाजमा आक्रमण गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
हमलापछि जहाज डुबेको छ । तर जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई भने सुरक्षित उद्धार गरिएको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर जहाजमाथि भएको हमलाको निन्दा गरेको छ । मन्त्रालयका अनुसार साउदी अरबको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाक्रमलाई निरन्तर निगरानी गरिरहेको छ । साथै चालक दलका सदस्यहरूको सुरक्षाका लागि यमनका सम्बन्धित अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
आक्रमणमा परेको जहाजको नाम ‘एमएसभी फैजे नूर–ए–औलिया’ रहेको बताइएको छ ।
यसअघि गत फागुनमा तेल बोकेर भारतको गुजराततर्फ आइरहेको थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामको एक जहाजमा आक्रमण भएको थियो ।
यसैगरी गत असारमा ओमानको तट नजिक ‘जीएफएस ग्यालेक्सी’ नामक अर्को एक व्यावसायिक जहाजमाथि पनि आक्रमण हुँदा सो जहाजमा रहेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको थियो । अर्का एकजना वेपत्ता भएका थिए ।
हुथी धम्कीपछि ६ साउदी सुपरट्यांकरले बदले समुद्री मार्ग
यसैबीच यमनका हुथी विद्रोहीले आक्रमणको धम्की दिएपछि ६ वटा साउदी सुपरट्यांकरले आफ्नो समुद्री मार्ग परिवर्तन गरेका छन् ।
ती ट्यांकरले लाल सागर र बाब अल–मन्देब जलडमरूमध्य हुँदै जाने छोटो मार्गको सट्टा अफ्रिकाको दक्षिणी भाग हुँदै जाने लामो समुद्री मार्ग रोजेका छन् ।
जहाजमाथि आक्रमण र समुद्री मार्ग परिवर्तनका घटनासँगै लाल सागर क्षेत्रमा व्यावसायिक जहाजको सुरक्षालाई लिएर थप चिन्ता बढेको छ । पछिल्ला घटनाले महत्वपूर्ण अन्तर्राष्ट्रिय समुद्री मार्गमा बढ्दो सुरक्षा जोखिमलाई समेत उजागर गरेको छ ।
प्रतिक्रिया 4