News Summary
Generated by OK AI. Editorially reviewed.- निजामती अस्पताल प्रशासनले अस्पतालभित्रको भिडभाड र सेवा प्रवाहको फोटो तथा भिडियो खिच्न अनधिकृत रूपमा रोक लगाएको छ ।
- अस्पताल प्रशासनले सामाजिक सञ्जालमा नकारात्मक सन्देश गएको भन्दै अनुमति विना दृश्य संकलन गर्न नदिने नीति लिएको छ ।
- सेवाग्राहीहरूले भने अस्पताल प्रशासनले आफ्ना कमजोरी र अव्यवस्था लुकाउन फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएको भन्दै आक्रोश पोखेका छन् ।
२१ साउन, काठमाडौं । निजामती (सिभिल) अस्पताल प्रशासनले अस्पताल भित्रको भिडभाड, बिरामीको चाप र सेवा प्रवाहको फोटो तथा भिडियो खिच्न रोक लगाएको छ ।
बिहीबार बिहान करिब ११ बजे रिपोर्टिङका लागि पुगेका अनलाइनखबरकर्मीलाई अस्पतालका सुरक्षागार्डले फोटो/भिडियो लिन नदिई खिचिसकेकोसमेत मेटाउन भने ।
अस्पताल परिसरमा बिरामीको चाप र सेवाको अवस्थाबारे दृश्य संकलन गर्न खोज्दा सुरक्षागार्डले हस्तक्षेप गर्दै फोटो तथा भिडियो खिच्न नपाइने बताएका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालमा अस्पतालका भिडियो र तस्वीर भाइरल हुन थालेपछि प्रशासनले रोक लगाएको सुरक्षागार्डले बताए ।
‘अहिले भिडियो र फोटो लिएर टिकटक र सामाजिक सञ्जालमा हाल्न थाले । त्यसले अस्पतालको नकारात्मक सन्देश मात्रै गयो । त्यसैले फोटो र भिडियो गर्न दिएका छैनौं,’ ती सुरक्षागार्डले भने ।
अनलाइनखबरकर्मीले आफू सञ्चारमाध्यमबाट रिपोर्टिङका लागि आएको परिचय दिएपछि भने सुरक्षागार्डले प्रशासनबाट अनुमति लिएपछि मात्रै फोटो तथा भिडियो खिच्न सकिने जवाफ दिएका थिए ।
त्यसपछि अनलाइनखबरकर्मी सुरक्षागार्डसँगै प्रशासन भवनमा पुगेका थिए । त्यहाँ सम्बन्धित कर्मचारीहरुको मिटिङ भइरहेको भन्दै अनलाइनखबरकर्मीले प्रतिक्रिया लिन पाएनन् ।
बिरामी तथा सेवाग्राहीहरूले भने अस्पताल प्रशासनले आफ्नो गल्ती कमजोरी लुकाउने उद्देश्यले फोटो/भिडियो खिच्न रोक लगाउने गरेको भन्दै असन्तुष्टि जनाए ।
पेटसम्बन्धी समस्या लिएर उपचारका लागि अस्पताल पुगेका बिक्रम तामाङले अस्पतालको भीड र अव्यवस्थाको तस्वीर सार्वजनिक हुन नदिन प्रशासनले कडाइ गरेको आरोप लगाए ।
‘भिडभाड बाहिर देखाउँदा अप्ठ्यारो पर्छ भनेर फोटो लिन नपाउने कस्तो नियम हो ? उनले प्रश्न गरे, ‘यो सामाजिक सञ्जालबाट बनेको सरकार हो । तर अहिले फोटो र भिडियो गर्न नदिएर सरकारले आफ्नै कमजोरी लुकाउन खोजिरहेको छ ।’
सरकारी अस्पतालहरूमा पछिल्लो समय बिरामीको अत्यधिक चाप, लामो लाइन, बेड अभाव र सेवा व्यवस्थापनको समस्या बारम्बार सार्वजनिक हुँदै आएका छन् । यिनै दृश्य सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत बाहिरिएपछि आलोचना बढ्न थालेको छ । त्यसपछि केही सरकारी अस्पतालहरूले फोटो तथा भिडियो खिच्न मौखिक रूपमा रोक लगाउन थालेका छन् ।
प्रतिक्रिया 4