News Summary
Generated by OK AI. Editorially reviewed.- अभियन्ता मिराज ढुंगानाले स–साना घटनामा सेना परिचालन गर्दा सेनाको गरिमा घट्ने र यसले दीर्घकालमा राष्ट्रिय सुरक्षामा असर पार्ने चेतावनी दिएका छन्।
- ढुंगानाले कप्तानगञ्जको साम्प्रदायिक झडपमा निहत्था युवामाथि गोली चलाएको भन्दै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले घटनाको जिम्मेवारी लिनुपर्ने आरोप लगाएका छन्।
- उनले नेपाल बहुजातीय र संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनका लागि घातक हतियारको सट्टा परिपक्व नीति र नन–लिथल उपकरणको प्रयोग गर्न सरकारलाई आग्रह गरेका छन्।
२१ साउन, काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाएका हुन् ।
उनले स-साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताए ।
सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्ने उनको भनाइ छ ।
कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालना गर्नु दुवै गलत भएको बताए ।
उनले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथि गोली हानेको आरोप लगाए ।
द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेनजी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेनजी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भएपनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको उनको भनाइ छ ।
उनले कप्तानगञ्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।
उनले हालै भारतमा भएको सीजेपीको ठूलो आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उनको भनाइ छ । तर नेपालमा भने सानो झडपमै गोली चल्नु चिन्ताजनक भएको उनले बताए ।
उनले ढुंगानाले नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनमा परिपक्व नीति आवश्यक रहेको उल्लेख गरे । सरकारलाई राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाउन उनले आग्रह गरे ।
उनले भने, ‘यत्रो आन्दोलनबाट आएको सरकारले यदि सिकेको छैन भने म सिक्नुन् आग्रह गर्न चाहन्छु । अबको द्वन्द्व नियन्त्रण गर्दाखेरी एसएलआर लिएर पुलिसलाई पठाउने होइन अथवा सस्तो तरिकामा सेनालाई जंगी अड्डाबाट बाहिर निकाल्ने होइन । सानोदेखि सानो घटनामा पनि जंगी अड्डाबाट सेना निस्किन्छ भने सेनाको जुन वर्चश्व आजको दिनसम्म कायम थियो त्यो भोलि रहँदैन ।’
उनले थपे, ‘सायद अलिकति दीर्घकालीन सोच भएको सरकार भएको भए जंगी अड्डाबाट सेनालाई यस्तो फितलो तरिकामा निकाल्ने थिएन । तर क्षमता भएन कि विवेक भएन कि के भएन । यो तरिकामा सेनालाई सस्तो पारियो भने आउँदो दिनमा कुनै पनि खालको द्वन्द्व जस्तो घटनामा धेरैको ज्यान जान सक्छ ।’
उनले सरकारलाई पेट्रोलियम पदार्थमा भइरहेको मिसावट रोक्न र मूल्य घटाउन पनि आग्रह गरे । उनले नेपालमा चीन विरोधी गतिविधि भईरहेको उल्लेख गर्दे सरकारको पराराष्ट्र नितिप्रति पनि प्रश्न उठाए ।
प्रतिक्रिया 4