News Summary
Generated by OK AI. Editorially reviewed.- कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा उद्यमशीलता विकासलाई सुदृढ बनाउन ‘के–कनेक्ट’ नामक नयाँ कार्यक्रम आयोजना गरेको छ ।
- कोइकाले कोरियाबाट फर्किएका श्रमिकलाई सहुलियतपूर्ण ऋणका लागि २५ लाख अमेरिकी डलर बराबरको ब्याज अनुदान उपलब्ध गराएको छ ।
- तराईमा १०९ वटा जलवायु–मैत्री कृषि उद्यम स्थापना हुनुका साथै पोखरामा पुनर्चक्रणमा आधारित ११५ वटा उद्यम सञ्चालनमा आएका छन् ।
२१ साउन, काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपालमा उद्यमशीलता विकासलाई थप सुदृढ बनाउने उद्देश्यले ‘के–कनेक्ट : प्रमोटिङ द इन्टरप्रेनरसिप इकोसिस्टम इन नेपाल’ कार्यक्रम आयोजना गरेको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा कोइकाले दिएको जानकारी अनुसार ‘के–कनेक्ट’ उद्यमी, लगानीकर्ता, वित्तीय संस्था, सरकारी निकाय, व्यवसायिक मार्गदर्शक (मेण्टर) र विकास साझेदारलाई एउटै मञ्चमा जोड्दै ज्ञान, सञ्जाल र वित्तीय पहुँच विस्तार गर्ने पहल हो ।
यसले नवप्रवर्तन, दिगो व्यवसाय विस्तार तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने कोइकाको अपेक्षा छ ।
कार्यक्रममा कोइकाको सहयोगमा सञ्चालन भइरहेका तीन प्रमुख परियोजनाको उपलब्धिसमेत सार्वजनिक गरिएको थियो ।
नेपाल फर्किएका श्रमिकलाई २५ लाख अमेरिकी डलर बराबरको ब्याज अनुदान
कोरिया फर्किएका आप्रवासी श्रमिकको पुन:एकीकरणका लागि सञ्चालित ‘के–हामी’ (K–HaMi) परियोजनाअन्तर्गत हालसम्म १५ हजारभन्दा बढी श्रमिकले प्राविधिक सीप, पुन:एकीकरण तथा वित्तीय साक्षरतासम्बन्धी तालिम लिएका छन् ।
तीमध्ये १९५ जनाले उद्यमशीलता तालिम पूरा गरेका छन् । साथै नेपाल फर्किएका श्रमिकलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन २५ लाख अमेरिकी डलर बराबरको ब्याज अनुदान उपलब्ध गराएको कोइकाले जनाएको छ ।
यसबाट करिब ३०० जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।

तराई क्षेत्रमा १०९ वटा जलवायु–मैत्री कृषि उद्यम स्थापना
त्यस्तै, जलवायु–स्मार्ट कृषि (CSA) परियोजनाअन्तर्गत तराई क्षेत्रमा १०९ वटा जलवायु–मैत्री कृषि उद्यम स्थापना भएका छन् ।
परियोजनाबाट ५ हजार ३०० भन्दा बढी लाभग्राहीले अनुदान तथा तालिम प्राप्त गरेका छन् भने ३४३ वटा हरित रोजगारी सिर्जना भएको कोइकाले जनाएको छ ।
यस परियोजनाका लागि १५ लाख अमेरिकी डलरको ‘तराई एग्रिबिजनेस एण्ड इन्टरप्राइज च्यालेन्ज फन्ड’ स्थापना गरिएको छ ।
पोखरामा सञ्चालित ‘ग्रीन जब क्रिएसन थ्रु रिसाइकलिङ एण्ड अपसाइकलिङ’ (GCRU) परियोजनाअन्तर्गत ११५ वटा पुनर्चक्रणमा आधारित उद्यम स्थापना भएका छन् ।
करिब ११ हजार घरधुरीलाई फोहोर व्यवस्थापनसम्बन्धी तालिम दिइएको र १ हजार ३०० भन्दा बढी व्यक्तिले उद्यमशीलता तालिम लिएको कार्यक्रममा जानकारी दिइएको छ ।
कोइकाको सहयोगको प्रशंसा
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते–योङले दक्षिण कोरियाको आर्थिक विकासमा मानव पूँजीमा गरिएको लगानी, सुदृढ संस्थागत प्रणाली, नवप्रवर्तन र निजी क्षेत्रको विकासले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कोइका नेपालका कन्ट्री डाइरेक्टर मूह्योन कोङले नेपालमा उद्यमशीलता, सीप विकास तथा वित्तीय पहुँच विस्तारका लागि कोइकाले विभिन्न परियोजनामार्फत निरन्तर सहयोग गर्दै आएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नवराज ढकाल र युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङले नेपालमा रोजगारी सिर्जना, सीप विकास र उद्यम प्रवर्द्धनका लागि यस्ता पहल महत्वपूर्ण हुने उल्लेख गर्दै कोइका मार्फत दक्षिण कोरिया सरकारले गर्दै आएको विकास सहयोगको प्रशंसा गरे ।
कार्यक्रममा लाभग्राहीहरूले आफ्ना अनुभव प्रस्तुत गरेका थिए भने बैंक तथा निजी क्षेत्रका प्रतिनिधिसामु व्यवसायिक प्रस्तुति (बिजनेस पिचिङ) र सम्भावित लगानीकर्तासँग प्रत्यक्ष परामर्श सत्रसमेत सञ्चालन गरिएको थियो ।
कोइकाले सन् १९९१ देखि नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तथा व्यावसायिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । हालसम्म नेपाललाई २३ करोड ५० लाख अमेरिकी डलर बराबरको विकास सहायता उपलब्ध गराइसकेको कोइकाले जनाएको छ ।
प्रतिक्रिया 4