+
+
Shares

१०० वर्षपछि स्पेनबाट देखिँदै दुर्लभ पूर्ण सूर्यग्रहण

वैज्ञानिकहरूका अनुसार सूर्यग्रहणका केही मिनेटका लागि तापक्रम घट्ने, दिनमै अन्धकार छाउने र केही ग्रह तथा चम्किला ताराहरू पनि देखिन सक्नेछन् । यही दिन राति (पर्सिड) उल्कावृष्टि पनि चरम अवस्थामा पुग्ने भएकाले खगोलीय दृश्य झन् आकर्षक बन्ने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ६:२८
Photo Credit : AP

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनमा एक शताब्दीपछि आगामी अगस्ट १२ मा दुर्लभ पूर्ण सूर्यग्रहण देखिने भएपछि विश्वभरका खगोलप्रेमी र वैज्ञानिकहरू उत्साहित भएका छन् ।
  • नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले विशेष अनुसन्धानका साथै सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन् ।
  • विशेषज्ञहरूले सूर्यग्रहण हेर्दा आँखाको सुरक्षाका लागि प्रमाणित इक्लिप्स चस्माको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।

२२ साउन, बार्सिलोना । आगामी अगस्ट १२ मा स्पेनको आकाशमा एक शताब्दीपछि दुर्लभ पूर्ण सूर्यग्रहण देखिने भएपछि वैज्ञानिक, खगोलप्रेमी र पर्यटकहरू उत्साहित बनेका छन् । यो खगोलीय घटना अवलोकन गर्न विश्वका विभिन्न देशबाट हजारौं मानिस स्पेन पुग्ने तयारीमा छन् ।

पूर्ण सूर्यग्रहण स्पेनका केही क्षेत्रबाट स्पष्ट रूपमा देखिनेछ भने युरोपका अधिकांश भाग, क्यानडा, उत्तरी अमेरिकाका केही क्षेत्र तथा पश्चिम अफ्रिकाबाट आंशिक सूर्यग्रहण अवलोकन गर्न सकिनेछ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले स्पेनको जाभालाम्ब्रे खगोलीय वेधशालाबाट प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासा र अन्य वैज्ञानिक संस्थाहरूले पनि सूर्यग्रहणलाई केन्द्रमा राखेर विशेष अवलोकन तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् ।

सूर्यग्रहणका क्रममा सूर्यको बाहिरी वायुमण्डल अध्ययन गर्न नासाको सहयोगमा विशेष अनुसन्धान गरिनेछ । अमेरिकाका विभिन्न विश्वविद्यालयका टोलीहरूले स्पेन र आइसल्यान्डबाट ६० भन्दा बढी उच्च–उचाइका बेलुन उडाएर पृथ्वीको वायुमण्डलमा पर्ने प्रभाव अध्ययन गर्नेछन् ।

वैज्ञानिकहरूका अनुसार सूर्यग्रहणका केही मिनेटका लागि तापक्रम घट्ने, दिनमै अन्धकार छाउने र केही ग्रह तथा चम्किला ताराहरू पनि देखिन सक्नेछन् । यही दिन राति (पर्सिड) उल्कावृष्टि पनि चरम अवस्थामा पुग्ने भएकाले खगोलीय दृश्य झन् आकर्षक बन्ने अपेक्षा गरिएको छ ।

विशेषज्ञहरूले सूर्यग्रहण हेर्दा प्रमाणित ‘इक्लिप्स चस्मा’ प्रयोग गर्न आग्रह गरेका छन् । सूर्यको सानो भाग मात्रै देखिएको अवस्थामा पनि नाङ्गो आँखाले हेर्नु आँखाका लागि हानिकारक हुन सक्ने चेतावनी दिइएको छ ।

यस दुर्लभ खगोलीय घटनालाई लक्षित गर्दै स्पेनका विभिन्न सहरमा सार्वजनिक अवलोकन कार्यक्रम, विज्ञान प्रदर्शनी र जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन् । होटल, क्याम्पिङ क्षेत्र र अन्य पर्यटन सेवामा पनि उल्लेख्य चाप देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्पेनको मुख्य भूभागमा यसअघि पूर्ण सूर्यग्रहण सन् १९१२ मा देखिएको थियो । त्यसयता पहिलो पटक यस्तो दुर्लभ दृश्य देखिन लागेको हो ।

वैज्ञानिकहरूका अनुसार सन् २०२७ मा स्पेनमै अझ लामो समयसम्म देखिने अर्को पूर्ण सूर्यग्रहण हुनेछ ।

– एपी तथा अन्य अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?