सज्जन राज वैद्य – विदाइ
उनी एउटा पुस्ताको प्लेलिस्टमा सदा हुने भाग्यमानी गायक हुन् । पछिल्लो समय उनले गीतहरू निरन्तर निकालिरहेका छन् । यस पटक यो गीतमा उनी क्लासिक सुनिएका छन् । उनी जुन शैलीमा गाएर चम्किए, त्यो शैलीलाई उनले निरन्तरता दिएका छन् । यो गीतमा उनले प्रेम विछोडपछिको विषयलाई उठान गरेका छन् । र, म्युजिक भिडियोमा आफैं देखा परेका छन् । विछोडलाई बिम्बात्मक तवरमा भन्न श्यामस्वेत रङको प्रयोग गरेका छन् । क्लासिक सज्जनलाई सुन्न यो गीत तपाईंका लागि उपर्युक्त हुन सक्छ ।
आज झस्कियो मन
भोलि आइलागेछ त आज बदली
फेरि हिजो भइदिए त अझै
माया गर्थ्यौ होला कि
मलाई बोलाउथ्यौ होलानी
बिहान पख परेलु धुई
नछुटिँदै
तर छैन नि म
मनमा तिम्रो
ह्वाट द फन्क – फाल्पुको जङ्गलमा
नयाँ साउन्ड, नयाँ शैली – यी कुरा तपाईंले खोजिरहनु भएको छ भने ह्वाट द फन्कको यो नयाँ ट्य्राक तपाईंले छुटाउनु हुँदैन । फन्क विधामा केही गर्ने उद्देश्यका साथ सुरु भएको यो ब्यान्डले यो गीतमार्फत विधालाई न्याय गरेका छन् । यदि तपाईं १९७४ एडीको फ्यान हुनुहुन्छ भने पनि तपाईंलाई प्लस पोइन्ट हुन सक्छ ।
किनकि सो ब्यान्डका निराकार याक्थुम्बा र मनोज कुमार केसी यो ब्यान्डमा पनि छन् । गीतमा एउटा यात्राबारे बखान गरिएको छ । जसले तपाईंलाई ऊर्जा पक्कै दिनेछ । त्यसमाथि यो गीत माउन्टेन बाइकिङ कम्युनिटीलाई समर्पित गर्दै निकालिएको हो ।
कोरेको बाटोमा सलल
दुई पाङ्ग्रामा साथी हामी आउँदैछौं
उकाली ओराली
जिन्दगी जस्तै
लड्दै पर्दै अघि बढ्ने छौं
फाल्पुको जङ्गलैमा…
अद्वैत खर्साङ – पारि गाउँ
दार्जीलिङको खर्साङमा रहेका अद्वैतले एउटा सुन्दर गीत लिएर आएका छन् । यो गीतमा लोक भाकादेखि रकसम्म सुन्न सकिन्छ । यो गीतमा नेपाल प्रेम प्रशस्तै झल्किन्छ । म्युजिकल पर्सपेक्टिभबाट मात्र कुरा गर्दा यो गीत धेरै कुराले सबल बनेको छ । उनले यति सुन्दर तरिकाले विधाहरूलाई ब्लेन्ड गरेका छन् कि उनले गीतमार्फत गर्न खोजेको एउटा आह्वान महसुस गर्न सकिन्छ ।
पारी गाउँमा मादल बज्यो
यो मन कति नाँच्यो गायो
दाइको त्यो सारङ्गी सुन
यो मनलाई रुवाउने धुन
हामी नेपालीको गीत सुन
५१५० – हिजो आज
केही वर्षदेखि काठमाडौंमा आधारित यो ब्यान्ड नाममा केही भिन्न छ । ब्यान्डमा काभ्या महर्जन, अभिनव घिसिङ, पेमा छिरिङ घिसिङ, डेइन बज्राचार्य छन् । यो गीतमा उनीहरूले लोक भाकालाई मिक्स्ड गर्न खोजेका छन् । आधुनिक रक विधामा लोक भाका मिसाउँदा यो गीत नयाँ आवाज सुनिन पुगेको छ । गीत भने प्रेम विषयमा छ । कोही कसैको प्रेममा पर्दाको समयलाई यो गीतमा गाइएको छ । यो क्षणमा एउटा व्यक्तिमा के भइरहेको छ ? उसको स्थिति कस्तो छ ? गीतमा तिनै कुरा गाइएको छ ।
हिजो आज फस्दैछु माया जालैमा
मनको घारीमा
अलि धेरै फसेछु माया जालैमा
रातको निद्रामा
सोचेसोचे परेछु तिम्रै यादमा
चेवाङ लामा – हे माया
कभर गीतहरू गाउँदै संगीत क्षेत्रमा जमेका चेवाङले ओरिजिनल गीत निकाल्न थालेको धेरै भइसकेको छ । यसपटक उनी पुन: नयाँ ओरिजिनल सहित आएका छन् । अकोस्टिक भाइब्सले गरिएको उनको यो नयाँ गीत आधुनिक शैलीका सरल गीत हो । प्रेम भावको विषयमा गाइएको यो गीतमा कतै लाउड साउन्ड छैन । सुनिरहँदा ट्राभल सङ जस्तो पनि लाग्न सक्छ ।
तिमीलाई हेर्ने आँखा टोलाइरहे
माया तिमीलाई मैले
मुटुमै सजाएँ
हे माया…
हे माया…
हे माया…
तिमीलाई हेरि यतिकै
जीवन काट्दिन्थेँ
तिम्रै लागि हो भने
देह त्यागदिन्थेँ
हे माया…
इन्साइड आउट नेपाल – अन्योल
यदि तपाईं पप रकको फ्यान हुनुहुन्छ नि त्यसमा नयाँ साउन्ड खोजिरहनु भएको छ भने नयाँ ब्यान्ड इन्साइड आउट नेपाल एउटा विकल्प हुन सक्छ । ब्यान्डको यो नयाँ गीत क्लियर साउन्डमा छ । जीवनको गन्थनमन्थनमाथि गाइएको यो गीतमा ड्रम र गितारको साउन्ड बडो सालिन सुनिएको छ । गीतको म्युजिक भिडियोले भने हलिउडको पप कल्चरलाई सम्झाउँछ ।
अन्यौलमा परेछु म आज
बुझ्नै सकिनँ यो जीवनलाई
गहिरो सोचमा डुबेँ आज
जोड्दै यो पहेंली जीवनलाई
भ्योमा – झुम्का
क्लासिक भाइब्स बोकेको यो गीत मधेसी बिट्सले प्रोड्युस गरेको हो । ९० को दशको संगीतहरूको झल्को दिने यो गीत र्याप हो । नसुन्नका लागि यसमा आवश्यक कारण त्यति भेटिँदैन । एउटा फरक आनन्द दिन्छ यो गीतले । भ्योमाको बोल्ड आवाजले गीतका हरेक भागलाई न्याय गरेको लाग्छ । र्यापमा पनि नयाँ आवाज खोजिरहनु भएको छ यो गीत तपाईंले आफ्नो प्लेलिस्टमा थप्न सक्नुहुन्छ ।
मङ्की टेम्बलको सँगै (अनलग्ड भर्सन), ओसिन कार्कीको खै तिमी, कवि जी र चिराग खड्काको बाल भो, सुगातको लुयामा, जिम्मी ग्यालचेन/उर्गेन डङको साउन आदि गीत पनि तपाईंले सुन्न सक्नुहुन्छ ।
(फ्राइडे प्लेलिस्ट अनलाइन खबरको साप्ताहिक श्रङ्खला हो । यसमा पछिल्ला साताहरूमा रिलिज भएका नयाँ गीतको चर्चा गरिन्छ । कलाकारहरूबारे जानकारी दिइन्छ । ती गीतलाई तपाईंले आफ्नो प्लेलिस्टमा राख्न सक्नुहुन्छ । यो श्रङ्खला सम्पूर्ण श्रोतामा सम्पर्पित छ ।)
प्रतिक्रिया 4