News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने निर्णय गरेमा त्यो भयानक गल्ती हुने चेतावनी दिनुभएको छ ।
- युईएफए, कन्काकाफ र एएफसीले इन्फान्टिनोले फिफा फर्वार्ड इन्टरप्राइज प्रस्तावमार्फत विश्वास तोडेको आरोप लगाउँदै उनीविरुद्ध खुला पत्र जारी गरेका छन् ।
- ट्रम्पले इन्फान्टिनोको नेतृत्वमा विश्वकप सर्वाधिक सफल भएको भन्दै उनको बचाउ गरेका छन् भने युईएफएले फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएको छ ।
२६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई दबाबका कारण पदबाट हटाइएमा भयानक गल्ती हुने बताएका छन् ।
युईएफए, कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) ले इन्फान्टिनोले रद्द भएको फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) प्रस्तावमार्फत ‘छल गरेर विश्वास तोडेको’ आरोप लगाउँदै खुला पत्र जारी गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प इन्फान्टिनाको पक्षमा उत्रिएका हुन् ।
एफएफई योजनाअन्तर्गत विश्वकपसहित फिफाका सबै प्रतियोगिताको व्यावसायिक तथा टिकट बिक्रीसम्बन्धी अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गर्ने प्रस्ताव थियो । उक्त कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने योजना थियो ।
जुलाई २८ मा एफएफई योजना सार्वजनिक भएयता ट्रम्पले पहिलोपटक इन्फान्टिनोको पक्षमा बोलेका हुन् । ‘कुनै पनि कारणले फिफाले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे सोच्यो भने त्यो भयानक गल्ती हुनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले थपेका छन्, ‘उहाँ उत्कृष्ट हुनुहुन्छ । उहाँकै नेतृत्वमा अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप आयोजना भएको छ, चार गुणासम्म सफल । यदि उहाँ हट्नुभयो भने विश्वकप फेरि त्यति सफल वा नाफामूलक हुने छैन ।’
सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेका थिए । फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेन च्याम्पियन बनेको थियो ।
एफएफईका लागि प्रस्तावित लगानीकर्ता समूहको नेतृत्व अमेरिकी भेन्चर क्यापिटल कम्पनी थ्राइभ इटर्नलले गर्ने अपेक्षा गरिएको थियो । थ्राइभका संस्थापक जोसुआ कुशनर ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ हुन् ।
इन्फान्टिनो र ट्रम्पबीच नजिकको सम्बन्ध छ । सन् २०२५ को डिसेम्बरमा इन्फान्टिनोले ट्रम्पलाई पहिलोपटक प्रदान गरिएको फिफा शान्ति पुरस्कार दिएका थिए ।
यसैबीच, युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएको छ । साथै, रद्द भएको एफएफई योजनालाई लिएर कानुनी कदम चाल्न सकिने पनि बताएको छ ।
युईएफए, कन्काकाफ र एएफसीले जारी गरेको पत्रमा युरोप, उत्तर तथा मध्य अमेरिका, क्यारिबियन र एसियाका फुटबल महासंघहरूको प्रतिनिधित्व हुन्छ । यो पत्र फिफाले आफ्नो संस्था र इन्फान्टिनोलाई कमजोर बनाउने योजनाबद्ध तथा निरन्तर प्रयास भइरहेको दाबी गर्दै आएको हो ।
‘जब छलका माध्यमबाट विश्वास तोडिन्छ, जब अधिकार सुम्पिएको सामूहिक संस्थाभन्दा कुनै व्यक्ति आफूलाई माथि राख्छ, तब उसले आफ्नो जिम्मेवारी त्यागेको हुन्छ,’ युईएफए, कन्काकाफ र एएफसीको पत्रमा भनिएको छ ।
-बीबीसीबाट
प्रतिक्रिया 4