+

एभरेस्ट महिला भलिबल लिगमा नयाँ फ्रेन्चाइज ‘सुदूरपश्चिम रोयल वारियर्स’ को घोषणा

२०८३ साउन  २८ गते १५:३८ २०८३ साउन २८ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल वारियर्स नयाँ फ्रेन्चाइज टोलीको रूपमा थपिएको छ ।
  • नयाँ टोलीले सुदूरपश्चिमका दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडीलाई व्यावसायिक मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ ।
  • टोलीका स्वामित्वकर्ता सञ्जीप शाहीले भने, ‘ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो’ ।

२८ साउन, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा गरिएको छ ।

लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच थप विस्तार हुने आयोजकको विश्वास छ ।

सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीको रहेको छ ।

आयोजकका अनुसार फ्रेन्चाइजले सुदूरपश्चिमको भलिबल प्रतिभा र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्नेछ । विशेषगरी ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित क्षेत्रका महिला खेलाडीलाई पहिचान गरी व्यावसायिक मञ्च प्रदान गर्ने लक्ष्य टोलीले लिएको छ ।

स्वामित्व समूहका तर्फबाट सञ्जीप शाहीले सुदूरपश्चिममा भलिबलप्रति ठूलो आकर्षण र प्रतिभा भए पनि महिला भलिबलको व्यावसायिक लिगमा यस क्षेत्रको आफ्नै फ्रेन्चाइज टोली नरहेको बताए ।

‘सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ । ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो’ शाहीले भने।

उनका अनुसार सुदूरपश्चिमको पहिचान र क्षमतालाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्ने उद्देश्य रहेको छ ।

एभरेस्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा गौरवान्वित भएको बताइन् ।

‘ईडब्लूभीको सुरुवातदेखि नै सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने र यस क्षेत्रमा भलिबल खेलको विकासमा रहेको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यस क्षेत्रलाई लिगसँग जोड्ने हाम्रो परिकल्पना रहँदै आएको छ,’ उनले भनिन् ।

उनले नयाँ स्वामित्व समूहको आगमनसँगै लिगको राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउँदै सुदूरपश्चिमलाई महिला भलिबलको व्यावसायिक संरचनासँग अझ नजिकबाट जोड्ने बताइन् ।

आयोजकले एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। लिगका सम्बन्धमा आगामी दिनमा थप घोषणा गरिने आयोजकले जनाएको छ ।

एभरेस्ट महिला भलिबल लिग सुदूरपश्चिम रोयल वारियर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय