News Summary
Generated by OK AI. Editorially reviewed.- नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपालको अध्ययनअनुसार ३०.८ प्रतिशत नेपाली महिला खेलाडी छनोटका क्रममा यौनजन्य दुर्व्यवहारको सिकार हुने गरेका छन्।
- प्रशिक्षण र खेलका क्रममा ३३.३३ प्रतिशत खेलाडी प्रशिक्षकबाटै अभद्र शब्दको प्रयोग र दुर्व्यवहारको सिकार हुने गरेको सो अध्ययनले देखाएको छ।
- दुर्व्यवहारका कारण ६५.२ प्रतिशत खेलाडी मानसिक तनावमा परेका छन् भने १३.०४ प्रतिशतले खेल जीवन नै छाड्ने अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
२८ साउन, काठमाडौं । नेपाली महिला खेलाडीहरु यौनजन्य दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपालले ‘नेपाली महिला खेलाडीहरूमाथि हुने यौन उत्पीडनको स्थिति’ को बारेमा गरेको अध्ययनले सो कुरा देखाएको हो ।
२७६ महिला खेलाडीमा गरिएको सर्वेक्षणले खेलाडी छनोटका क्रममा ३०.८ प्रतिशत महिला खेलाडीले यौनजन्य दुर्व्यवहार बेहोर्ने गरेको निष्कर्ष निकालेको छ । यस्तै प्रतियोगिताका क्रममा २६.०९ र प्रशिक्षणका क्रममा ७.९७ प्रतिशत दुर्व्यवहारमा पर्ने गरेको अध्ययनले देखाएको छ ।
अध्ययनकाअनुसार प्रशिक्षण तथा खेलका क्रममा प्रशिक्षकबाटै ३३.३३ प्रतिशत महिला खेलाडीहरुलाई अभद्र शब्द प्रयोग हुने गरेको पाइएको हो । यस्तै म्यानेजरबाट २३.१९ प्रतिशत, दर्शकबाट ११.५९ र प्रशिक्षक/व्यवस्थापक/संघ/राखेपका पदाधिकारीहरूबाट २१.७४ प्रतिशत महिला खेलाडीलाई अभद्र व्यवहार हुने गरेको देखिन्छ ।
दुर्व्यवहारका कारण महिला खेलाडीहरुको मानसिक र खेल जीवनमा गम्भीर असर परेको अध्ययनको निष्कर्ष छ । दुर्व्यवहारबाट ६५.२ प्रतिशत खेलाडीहरु मानसिक तनावको सिकार भएका छन् । जसका कारण ४६.३८ प्रतिशत निराश र २०.२९ प्रतिशतले असहाय महशुस गर्दा १३.०४ प्रतिशत महिला खेलाडीहरु खेलकुद नै छाड्ने सोचमा पुगेका छन् ।
दुर्व्यवहारमा परेकामध्ये २६.०९ प्रतिशतले डर र सामाजिक प्रतिष्ठाका कारण कसैलाई पनि उजुरी नगर्ने गरेको सो अध्ययनको ठहर्याएको छ । ४२.०३ प्रतिशतले प्रशिक्षक र साथीलाई भन्ने गरेको अध्ययनमा लेखिएको छ ।
अध्ययनमार्फत नेपाली महिला खेलाडीहरुले देशभरी सचेतना तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न र दुर्व्यवहार गर्नेहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । महिला खेलाडीहरूका लागि गोप्य रूपमा उजुरी दिन सकिने छुट्टै महिला सेलको स्थापना हुनुपर्ने र सानै उमेरदेखि नै आत्मरक्षा तालिम र खेलाडीहरूका लागि निशुल्क फिजियोथेरापीको व्यवस्था हुनुपर्नेमा खेलाडीहरुको जोड थियो ।
हेरौं रिपोर्ट
प्रतिक्रिया 4