News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
- नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न इच्छुक प्रदेश सभा सदस्यहरूलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्मको समय दिइएको छ ।
- नेकपा एमालेले संसदीय दलका नेता जगन्नाथ थपलियाविरूद्द दर्ता भएको अविश्वासको प्रस्ताव टुंगो लगाएपछि मात्र नयाँ मुख्यमन्त्रीको उम्मेदवार चयन गर्ने तयारी गरेको छ ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार इच्छुक प्रदेश सभा सदस्यले भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्नुपर्नेछ ।
मुख्यमन्त्री बानियाँले प्रदेश सभाबाट विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
अब नयाँ सरकार गठनका लागि प्रदेश सभामा बहुमत जुटाउने दलहरूबीच कसरत सुरु भएको छ । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ ।
नेकपा र नेकपा एमालेबीचको गठबन्धनले अन्य दलको समर्थनमा सरकार गठन गर्ने तयारी गरेका छन् । दुई दलको भागबण्डाअनुसार बागमतीमा एमालेबाट मुख्यमन्त्री हुनेछन् ।
एमालेभित्र वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाविरूद्द आफ्नै दलभित्र अविश्वासको प्रस्ताव दर्ता भएकाले प्रस्तावको छिनोफानोपछि मात्रै भावि मुख्यमन्त्रीको टुंगो लाग्नेछ । १६ जना सांसदको हस्ताक्षरमा भक्तपुरका किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्दै २७ साउनमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । भोलि मंगलबार दलको बैठक बोलाइएको र अविश्वास प्रस्तावको टुंगो लगाइने थापाले बताए ।
बागमती प्रदेश सभा १०४ सदस्यीय रहेको छ । नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।
प्रतिक्रिया 4