News Summary
Generated by OK AI. Editorially reviewed.- हेटौंडा-काठमाडौं जोड्ने भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आज एक जिप दुर्घटना भएको छ ।
- प्रहरीका अनुसार जिप सडकबाट भिरमा खसेको छ र उक्त दुर्घटनामा ६ जना सवार थिए ।
- भीमफेदी इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर उद्धार कार्य अगाडि बढाएको छ ।
२ भदौ, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जिप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा स्कारपियोमा सवार दुई महिला र चार पुरुष घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर र अन्य पाँच जनाको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी भइरहेको छ । घाइतेहरूको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थलमा खटिएको छ ।
प्रहरीले स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4