News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र समितिमा सहसभापति, सदस्य र सल्लाहकार मनोनीत गरी मनोनयन पत्र हस्तान्तरण गरिएको छ।
- महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कृषि उत्पादनलाई बजार, प्रशोधन, मूल्य अभिवृद्धि र निर्यातसँग जोड्न निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने बताए।
- सभापति शिवप्रसाद घिमिरेले कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट व्यावसायिक र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताए।
३ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र समितिमा सल्लाहकार तथा सदस्य मनोनीत भएका छन् ।
महासंघका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवप्रसाद घिमिरे नेतृत्वको सो समितिको सहसभापतिमा राजेशभक्त श्रेष्ठसहित विभिन्न व्यक्तिहरुलाई समितिको सदस्य तथा सल्लाहकारको मनोनयन पत्र हस्तान्तरण गरिएको छ ।
कृषि उद्यम केन्द्रका समितिका सह–सभापति, सदस्यहरू तथा सल्लाहकारलाई मनोनयन पत्र हस्तान्तरण गर्न महासंघमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न कृषि उद्यम केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । केन्द्रले किसान, उद्यमी, लगानीकर्ता र बजारबीच समन्वय गर्ने प्रभावकारी संस्थागत संयन्त्रका रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उनले कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा किसानले अपेक्षित लाभ लिन नसकेको उल्लेख गरे ।
उनले उत्पादनसँगै प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरण र निर्यातमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रमा लगानी र उद्यमशीलता विस्तारका लागि नीतिगत तथा संस्थागत अवरोध हटाउन महासंघले आवश्यक पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले कृषि उद्यम केन्द्रलाई परिणाममुखी र व्यावसायिक ढंगले अघि बढाउन समितिका सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणविना मुलुकको दिगो आर्थिक विकास सम्भव नहुने बताए । उनले कृषि उद्यम केन्द्रले किसानको उत्पादन, निजी क्षेत्रको लगानी, आधुनिक प्रविधि र बजारलाई जोड्दै कृषि क्षेत्रमा नयाँ उद्यम र रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले कृषि उद्यम केन्द्रले मुलुकभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग समन्वय गरी स्थानीय तहमा कृषि उद्यमको सम्भावना पहिचान तथा प्रवद्र्धन गर्नुपर्ने बताए । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, किसान र उद्यमीबीच सहकार्य बढाउने तथा स्थानीय स्रोतसाधनको व्यावसायिक उपयोग गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट मुक्त गरी व्यावसायिक, प्रतिस्पर्धी र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताए । उनले नेपालको कुल जनसंख्याको करिब आधा हिस्सा कृषि क्षेत्रमा संलग्न रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले कृषि क्षेत्रको रूपान्तरणविना समग्र आर्थिक समृद्धि सम्भव नहुने बताए ।
उनले उत्पादनदेखि प्रशोधन, मूल्य अभिवृद्धि, ब्रान्डिङ, प्याकेजिङ र निर्यातसम्मको पूर्ण मूल्य शृङ्खला विकास गरी किसानलाई बजारसँग र उत्पादनलाई उद्योगसँग जोड्नुपर्ने बताए । कृषि–उद्योग समन्वय विस्तार, खाद्य प्रशोधन, कोल्ड चेन, भण्डारण तथा कृषि पूर्वाधारमा निजी लगानी आकर्षित गर्ने, सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्ने तथा कृषि लगानी सम्मेलनजस्ता पहल अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
वि.सं. २०४८ मा स्थापना भएको कृषि उद्यम केन्द्रले तीन दशकभन्दा बढी समयदेखि कृषि क्षेत्रमा नीतिगत पैरवी, उद्यमशीलता विकास तथा बजार प्रवद्र्धनमा काम गर्दै आएको छ । नयाँ कार्यसमितिले केन्द्रलाई कृषि उद्यम, लगानी, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारबीचको सशक्त सेतुका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।
प्रतिक्रिया 4