News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न क्षेत्रमा देखिएको अशान्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले विज्ञप्ति मार्फत शान्तिपूर्ण वार्ता र आपसी समझदारीबाट मात्र समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
- महासंघले स्थानीय प्रशासन र नागरिक समाजसँग समन्वय गरी सामाजिक सद्भाव कायम राख्न आफ्ना मातहतका सबै संघहरूलाई सक्रिय हुन अपिल गरेको छ ।
१५ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न क्षेत्रमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटना र सर्वसाधारणबीच उत्पन्न तनावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भावका लागि सक्रिय रहन सबै प्रदेश महासंघ तथा जिल्ला/नगर संघलाई आह्वान गरेको छ ।
तराईका विभिन्न जिल्लामा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्न महासंघले सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन भनेको छ । महासंघले आफ्ना सबै मातहतका प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा स्थानीय अगुवाहरूसँग आवश्यक समन्वय गरी भाइचारा र शान्ति सुरक्षा कायम राख्नका लागि सक्रिय पहल गर्न आग्रह गरेको छ ।
परिस्थिति र स्थानीय प्रशासनको अनुमतिमा आवश्यकता हेरी सद्भाव र्याली आयोजना गरी शान्ति र सद्भावको वातावरण बनाउन महासंघले प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई विशेष अपिल गरेको छ ।
जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता र आपसी समझदारीबाट मात्र सम्भव हुने भएको भन्दै महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले सम्पूर्ण प्रदेश महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ तथा महासंघसंग आवद्ध सम्पूर्ण सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा अग्रसर भई सामाजिक सद्भाव कायम राख्न विज्ञप्ति मार्फत आग्रह गरे ।
उक्त घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको स्मरण गराउँदै महासंघले कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप र हिंसाले सर्वसाधारणको दैनिक जीवनयापनका साथै उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पुर्याउने स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4