+
+
Shares

उद्योग वाणिज्य महासंघले भन्यो : सामाजिक सद्‌भाव र शान्ति नै विकासको पूर्वसर्त हो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्ज लगायत तराई क्षेत्रमा बढेको सामाजिक अशान्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • ‘कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन’ भन्दै महासंघले शान्तिपूर्ण वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको छ ।
  • महासंघले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दै सामाजिक सद्‌भाव र आपसी भाइचारा कायम राख्न सबै पक्षलाई अपिल गरेको छ ।

१४ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लामा देखा परेको अशान्त वातावरण, शृङ्खलाबद्ध घटनाहरू तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको उल्लेख गर्दै महासंघले तराई–मधेश क्षेत्र विशेष गरी विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्‌भाव र सहिष्णुताको केन्द्र भएको जनाएको छ ।

‘कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन’ महासंघले भनेको छ, ‘यस प्रकारका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्‍याउँछ । सामाजिक सदभाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो ।’

महासंघले जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान केवल शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने बताएको छ । महासंघले सुनसरीको कप्तानगञ्ज लगायतका स्थानमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तथा सरकारसँग माग गरेको छ । कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भई संयमता अपनाउन तथा परापूर्वकालदेखि कायम रहँदै आएको भाइचारालाई अझ मजबुत बनाउन अपिल गरिएको छ ।

तराईका क्षेत्रमा देखा परेको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरूहरू, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूसँग नेपाल उद्योग वाणिज्य महासंघले आह्वान गरेको छ ।

महासंघले घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घटनामा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?