२० भदौ, पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न तथा स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्न ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण हुने भएको छ ।
आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
लिगमा नेपालिज क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज, एभरेस्ट वारियर्स अबुधाबी र नेपाल टाइटन्स क्रिकेट क्लब गरी ४ टोलीबीच कुल ७ खेलमा प्रतिस्पर्धा हुनेछ । खेलहरू प्रत्येक शनिबार राति ९ः०० बजे र ११ः५९ बजे हुनेछन् भने सेप्टेम्बर २६ मा फाइनल खेल र समापन समारोह राखिएको छ ।
दुबईस्थित हिल्टन होटलमा आयोजकले पत्रकार सम्मेलन गर्दै जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ र नेपाल कन्सुलेट जनरल (दुबई) का कन्सुल कुञ्जन शाहले प्रवासी नेपाली प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नियमअनुसार १७ सदस्यीय टोलीको ११ सदस्यीय खेल सेटमा कम्तीमा ९ जना नेपाली र बढीमा ३ जना विदेशी खेलाडी समावेश गर्न पाइनेछ । विजेताले ५ हजार यूएई दिराम र उपविजेताले २ हजार दिरामसहित ट्रफी, पदक र व्यक्तिगत विधाका पुरस्कार प्राप्त गर्नेछन् ।
दर्शकको सुविधाका लागि आयोजकले बुर्ज दुबई, अल क्वोज र सोनापुरबाट मैदानसम्म निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजकले नेपालका बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरेको छ ।
मुख्य प्रायोजक जीसीडी ग्रुप र प्लाटिनियम स्पोन्सर अल फरदान एक्सचेन्ज रहेको यो प्रतियोगिताले यूएईमा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
संयुक्त अरब इमिरेट्समा नेपाली क्रिकेटको विकास र प्रवद्र्धनका साथै त्यहाँ रहेका नेपाली खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण आयोजना हुने भएको हो ।
प्रतिक्रिया 4