+
+
Shares

बैंकहरूले सेयरमा गरेको लगानी ४५ दिनपछि नै बेच्न पाउने व्यवस्था लागु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते २१:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचीकृत कम्पनीको सेयर र डिबेञ्चर ४५ दिनपछि बिक्री गर्न पाउने गरी निर्देशन जारी गरेको छ।
  • यसअघि बैंकहरूले पूँजी बजारमा लगानी गर्दा ६ महिना होल्ड गर्नुपर्ने व्यवस्था थियो।
  • बैंक तथा वित्तीय संस्थाले लगानी नीति र कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र यो व्यवस्था कार्यान्वयन गर्नुपर्ने केन्द्रीय बैंकले शर्त तोकेको छ।

८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरी ४५ दिनपछि नै बिक्री गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै यसअघिको ६ महिना अवधिलाई घटाइ जम्मा ४५ दिनमा झारेको हो ।

हालसम्म बैंकहरुले पूँजी बजारमा लगानी गर्दा ६ माहिना होल्ड गर्नुपर्ने व्यवस्था थियो । बिहीबारको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले ४५ दिनपछि नै सेयर वा डिबेन्चर बेच्ने योजना सहित लगानी गर्न सक्छन् ।

निर्देशन अनुसार धितोपत्र बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइनेछ ।

यस बाहेक कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था केन्द्रीय बैंकले थप गरेको छ ।

तर, बैंक तथा वित्तीय संस्थाले यो व्यवस्था कार्यान्वयन लगानी नीति तथा कार्यविधि स्वीकृत गराएर मात्र गर्नुपर्ने सर्त केन्द्रीय बैंकले तोकेको छ ।

सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाहरुको सेयर तथा डिबेञ्चरमा गरिने लगानी सम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर लागु गर्नुपर्नेछ ।

साथै बैंक तथा वित्तीय संस्थाले लगानी सम्बन्धी नीति तथा कार्यविधिमा स्पेकुलेटिभ जोखिम न्यूनीकरण हुनेगरी कार्यविधि बनाइ सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले लगानी नीति तथा कार्यविधिमा नीतिगत व्यवस्था सम्बन्धी विषयहरु समावेश गर्नुपर्ने केन्द्रीय बैंकले सर्त तोकेको छ । कार्यविधिमा लगानीको उद्देश्य तथा रणनीति, लगानी गर्न सकिने सेयर, डिबेञ्चरलगायतका उपकरण, लगानी उपकरणलाई बैंकिङ बुक र ट्रेडिङ बुकमा वर्गीकरण गर्नु पर्ने विषयलाई समेट्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी कार्यविधिमा एसेप्टेबल र अनएसेप्टेबल लगानी, योग्य काउन्टरपार्टी, लगानीको उपकरण अनुसारको न्यूनतम र अपेक्षित होल्डिङ अवधि समेत तोकिएको हुनु पर्ने बैंकले जनाएको छ ।

लगानी सम्बन्धी निर्णय तथा कारोबारमा आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनी, उल्लेख्य स्वामित्व रहेका सेयरधनी र जोखिम लिनेसँग स्वार्थको द्वन्द्व नहुने व्यवस्था गरी सोको पहिचान गर्ने गरी कार्यविधि बनाउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । अनुगमन, नियन्त्रण र रिपोर्टिङ गर्ने सम्बन्धमा अबलम्बन गर्ने विधि र प्रक्रियाका विषयमा समेत कार्यविधिले स्पष्ट पार्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

लगानी स्वीकृत गर्ने स्पष्ट प्रक्रिया तथा अख्तियारी सम्बन्धी व्यवस्था र लगानी कारोबार गर्न तोकिएको अधिकारीले लगानी गर्न सक्ने सीमा सम्बन्धी व्यवस्था पनि कार्याविधिमा उल्लेख गरिएको हुनुपर्ने सर्त केन्द्रीय बैंकले गरेको छ ।

लगानी गर्न अख्तियारी प्राप्त अधिकारीको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था समेत गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यसमा जोखिम व्यवस्थापन सम्बन्धी विषय, लगानीमा संलग्न एएलसीओ लगायतका विभिन्न समिति तथा इकाईहरुको स्पष्ट कार्य विभाजन र जिम्मेवारी प्रदान गरिएको हुनुपर्ने केन्द्रीय बैंकले तोकेको छ ।

बैंक तथा वित्तीय संस्थाले सेयर तथा डिबेञ्चरको कारोबार गर्दा कारोबार रणनीति, जोखिम बहन क्षमता तथा सीमा, नाफा लिने र नोक्सान रोक्ने सीमा, लगानी क्षेत्र तथा क्षेत्रगत सीमा, कारोबार बुक सम्बन्धी व्यवस्था कार्यविधिमा गरिएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले दबाब परीक्षण लगायतका अन्य बजार जोखिम मापन गरी व्यवस्थापन गर्ने विधि, प्रक्रिया र मोडलहरूको पनि अबलम्बन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

लगानीबाट उत्पन्न हुन सक्ने बजार जोखिम, तरलता जोखिम तथा अन्य जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङको सम्बन्धमा अबलम्बन गर्ने विधि र प्रक्रियामा बैंक तथा वित्तीय संस्था स्पष्ट हुनु पर्ने व्यवस्था गरिएको छ । वित्तीय उपकरण निष्कासनकर्ताको नियमित रुपमा आन्तरिक जोखिम मापन गर्ने व्यवस्था समेत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । रिपोर्टिङ सम्बन्धी विषयमध्ये व्यवस्थापन रिपोर्ट, ब्रिच रिपोर्ट लगायत तयार गर्नुपर्नेछ ।

सेयर बजार निरन्तर ओरालो लागेपछि सरकारले २१ बुँदे सेयर बजार सुधार कार्यक्रम कार्यान्वयनको समय सीमा तोकेर ल्याएको थियो । सोही कार्यक्रमलाई कार्यान्वयनका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सेयर तथा डिबेञ्चर लगानी खुकुलो बनाएको हो ।

राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै एक संगठित संस्थाको शेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पूँजीको १० प्रतिशत नबढ्ने गरी र सबै संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशत नबढ्नेगरी लगानी गर्न सक्छन् ।

त्यसैगरी, संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पूँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था छ ।

लगानी गर्दाको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको भएमा बढी भएको लगानी रकम प्राथमिक पूँजीबाट घटाई पूँजीकोष कायम गरिने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वार्थ भएका कम्पनीमा गरिएको कुल लगानीको हकमा त्यस्तो लगानी आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म गर्न सकिने व्यवस्था छ ।

वित्तीय स्वार्थ भएको संगठित संस्थाका सेयर तथा डिबेञ्चरमा गरेको कुल लगानी रकमलाई पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाएर गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?