+
+
Shares
सिनेमा :

डिगर : पश्चिमा समाजको दोहोरो चरित्र र लाचारी देखाउने ऐना

अमेरिकाको राष्ट्रपति जस्तो व्यक्तिले कसरी जलवायु सङ्कट जस्तो समस्यालाई हल्का रूपले लिन्छ भन्ने कुरा सिनेमाले नाङ्गो रूपमा देखाउँछ ।

सापेक्ष सापेक्ष
२०८३ असोज २३ गते ९:२४

अस्कर विजेता निर्देशक अलेहान्द्रो जी इन्यारितु र हलिउडका चर्चित एक्सन स्टार टम क्रुजको बहुप्रतीक्षित सिनेमा डिगर बक्स अफिसमा शिकार भइरहेको छ ।

१२ देखि १५ करोड अमेरिकी डलर निर्माण बजेट र थप १० करोड डलर प्रचारप्रसार खर्चमा तयार पारिएको यो महत्वाकांक्षी सिनेमाले आफ्नो पहिलो सप्ताहन्तमा विश्वभरबाट जम्मा २ करोड डलर मात्र सङ्कलन गर्न सक्यो । हलिउडका व्यापार विश्लेषकहरूका अनुसार यस सिनेमाले स्टुडियोलाई करिब १५ करोड डलरसम्मको ठूलो घाटा गराउने अनुमान गरिएको छ ।

समीक्षकहरूबाट अपेक्षित राम्रो टिप्पणीहरू नआएपछि निर्माण कम्पनी वार्नर ब्रदर्सले सिनेमा कस्तो छ, आफैँ हेरेर निर्णय गर्नुहोस् भन्दै प्रचार चलाउनुपरेको छ । अर्कोतिर हलमा पुगेका अधिकांश दर्शकहरूले सिनेमास्कोरमा यसलाई सी प्लस ग्रेड दिइरहेका छन् । अर्थात् आम दर्शकहरू सिनेमादेखि निराश भएका छन् ।

यसमा त्यस्तो खास के छ ?

विषयवस्तु

सिनेमाको कथा डिगर रकवेल नामक पात्रको पीओभीबाट देखाइएको छ । सुरुवातमै ग्रिनल्यान्डमा रहेको उनको तेल खानीमा विस्फोट हुन्छ । सो विस्फोटका कारण हिउँको ठूलो खण्ड फुटेर समुद्रतिर बग्न थाल्छ । त्यसले युरोपभर खतरा बढाउँछ ।

तेल कम्पनीका मालिक डिगरले सुरुमा यो खतरालाई पत्याउँदैनन् । संकट बढ्दै गएपछि भने उनीसहित अमेरिकी राष्ट्रपति कम्पसन, वैज्ञानिक डा. गणेश, उच्च सैनिक अधिकारीहरू समाधान खोज्न थाल्छन् ।

तर सिनेमामा एउटा ट्विस्ट आउँछछ – टम क्रुजले सोझै डिगर रकवेलको भूमिका निभाएका हुँदैनन् । उनी कुर्टिस मार्क्सन नामका अनुभवी कलाकार हुन्छन् । डिगरको त उनले फसिल फुल्स नामक नाटकमा अभिनय गरिरहेका हुन्छन् । नाटक डिगरका भतिजा केनीको लगानी र हन्ना नाम गरेकी एक पात्रको निर्देशनमा बनिरहेको हुन्छ ।

यसरी यो सिनेमा कला र यथार्थबीचको रेखालाई केलाउने मेटाफिक्सनल बनेको छ । सिनेमालाई इको सटायर, कमेडी र मेटाड्रामा विधा भनेर चिनाइएको छ । यो सिनेमाले मेटाड्रामा राम्रो गर्न सके पनि इको सटायर अर्थात् पर्यावरणका विषय उठाउँदै त्यसमाथि सफल व्यङ्ग्यात्मक बहस छेड्न असफल छ ।

यही आधारलाई टेकेर धेरैजसो समीक्षकहरूले यसलाई अत्यधिक उपदेश भएको, अहङ्कारी र पट्यारलाग्दो व्यङ्ग्य भनेर आलोचना गरेका छन् । ग्रिस्टका जलवायु पत्रकार जेक बिटलका अनुसार यो सिनेमा एउटा भारी दृष्टान्त मात्र बनेको छ । यसले तेल उद्योगको कुनै नयाँ अन्तर्दृष्टि खोल्दैन ।

यस्तै, समीक्षक रोबर्ट ड्यानियल्सका अनुसार सिनेमा आफ्नै महत्वाकाङ्क्षामा निसास्सिएको छ । यसले एउटा नराम्रो नाटकभित्रै धेरै समय बिताएकाले दर्शकलाई जोड्न नसक्ने उनको तर्क छ ।

अर्कातर्फ, द गार्डियनकी समीक्षक सियान केनले भने यसलाई बुझ्न नसकिएको उत्कृष्ट कलाका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो सिनेमा सोझो व्यङ्ग्य मात्र नभई संसारको अन्त्य भइरहँदा कला वा सिनेमाको सीमा के हो ? भन्ने विषयमाथि गरिएको मेटा कमेन्ट्री हो । सिनेमाले कलाले संकट रोक्न सक्दैन भन्ने असजिलो सत्य उजागर गरेकाले धेरैले यसलाई पचाउन नसकेको उनीहरूको भनाइ छ ।

यद्यपि यो सिनेमा ६४ वर्ष पुगिसकेका टम क्रुजको नजरबाट हेर्ने हो, प्रशंसा नगरी बस्न मिल्दैन । आफ्नो एक्सन अवतार छाडेर व्यङ्ग्यात्मक र गहन चरित्र निभाउनु उनका लागि पक्कै ठूलो अभिनय चुनौती थियो । तर, त्यसमा उनी पूर्णत: सफल रहेका छन् । केही समीक्षकहरूले त यस वर्षको अस्कर अवार्डमा बेस्ट एक्टरतर्फत उनले पुरस्कार पाउने पूर्वानुमानहरू समेत गरिरहेका छन् । जे होस् – यो सिनेमामा उनी पूर्णत: जमेका छन् ।

एउटा उदाहरण, सिनेमामा क्रुजको करिब १० मिनेट लामो एउटा संवाद छ । तर, त्यसलाई उनले एकसरो बनाएका छैनन् । पट्यार लाग्दा बनाएका छैनन् । बस् ! त्यो संवाद नै उनको अभिनयको उत्कृष्टताको मापन पनि बन्न सक्छ । त्यसमा उनले अहङ्कार, असहायता र विक्षिप्तता सुनाएका छन् ।

सिनेमाका खास कुरा

‍डिगरले पर्यावरणको कुरा उठाइरहँदा आधुनिक उपभोक्तावादी समाज र पश्चिमा वर्गको चेतनाको आडम्बरमाथि व्यङ्ग्य छेड्न भने सकेको छ । किनकि पश्चिमा राष्ट्र प्रमुख, उद्यमी र सत्ता/शक्ति नजिक भएकाहरूले जलवायु परिवर्तन, त्यसबाट सिर्जना हुने सङ्कटलाई कसरी बुझ्छन् ?

यी कुरामा उनीहरू दृष्टि के हो भन्ने कुरा हेर्न सक्छौं । किनकि, प्राकृतिक रुपमा दोहन गरेर बनाइएको एउटा तेलखानी विष्फोट हुनु नै कथा अघि बढ्नुको मुख्य कारण हो । तर, त्यसमा डिगरले त्यस प्रकारको विनाशको मुख्य दोषी उल्टै सर्वसाधारण मानिसहरूलाई दोष दिन्छन् । र, आजको समयमा यस प्रकारको कथन कुनै नौलो होइन।

डिगरले एक ठाउँमा अझ यसो भन्छ – तपाईंहरूलाई सजिलो जीवन चाहिएकैले तेलको माग बढेको हो ।

अर्थात् निर्देशक इन्यारितुले सिनेमाबाट संसार ध्वस्त भइरहेका बेला कला वा सिनेमाले मानिसलाई बचाउन सक्छ ? भन्ने खालको दार्शनिक प्रश्न उठाएका छन् ।

तर, सिनेमामा उनको उत्तर सक्दैन छ । यो बुझाउने दृश्य हो – नाटक सकिएपछि दर्शकहरूले कलाकारहरूका लागि उभिएर ताली बजाउँछन् । तर खतराको साइरन बज्नेबित्तिकै उनीहरू सबैले ग्यास मास्क लगाएर थिएटरबाट निस्किन्छन् ।

यसलाई यसरी पनि बुझ्न सकियो – जलवायु परिवर्तनले प्रभाव पारिरहँदा मानिस कसरी नाटक र सिनेमाको अभिनयमा भुलेर बस्छ भन्ने कठोर यथार्थ डिगर हो ।

सिनेमा र नेपाल

डिगरलाई टम क्रुज अथवा वा एउटा महँगो हलिउड प्रयोगका रूपमा बुझ्ने छुट छ । तर, उसलाई पश्चिमा आधुनिक समाजको दोहोरो चरित्र र लाचारी बुझ्ने ऐनाका रूपमा पनि हेर्न सकिन्छ ।

कसरी पश्चिमा संसारले जलवायु विनाशजस्तो संवेदनशील विषयलाई मजाकमा लिन्छ । कसरी विषयलाई पन्छाउन खोज्छ । कसरी नाटक, चिल्ला भाषण र बौद्धिक बहसको मनोरञ्जन बनाइदिन्छ । कसरी गैरअमेरिकनहरूमाथि हेरिन्छ । अमेरिकाको राष्ट्रपति जस्तो व्यक्तिले कसरी जलवायु सङ्कट जस्तो समस्यालाई हल्का रूपले लिन्छ भन्ने कुरा सिनेमाले नाङ्गो रूपमा देखाउँछ ।

पछिल्लो समय रसुवा बाढी पछि नेपाललाई लिएर विश्वका प्रमुख मिडिया अथवा मञ्चतिर जलवायु न्यायका कुराहरू उठे । नेपालले पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कुरा राख्यो ।

तर, सिनेमाका मुख्य पात्र डिगरझैं वातावरणीय विनाशको दोष आफूले लिन छाडेर सर्वसाधारण उपभोक्तामाथि थुपार्ने वर्ग पनि यहीँ छन् । सिनेमामा जसरी संकट हेर्ने तर त्यसपछि निष्क्रिय निस्कने दर्शकहरू झैं वर्ग छन् ।

सत्य के हो – डिगर मा झैं कयौं गुणा भयानक यथार्थ हाम्रै दैलोमा आइपुगेको छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?