News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चलचित्र कलाकार संघले आइतबार काठमाडौंमा ‘साथी राइड’ को शुभारम्भ र बडादसैं शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’ को शुभारम्भ तथा बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को गरेका हुन् ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य दिएका थिए । चलचित्र क्षेत्रका विशिष्ट चलचित्रकर्मी, कलाकार, प्राविधिक, लेखक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले हालैका प्राकृतिक विपत्ति र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित बनाएको विषयमा चर्चा गरे । यस वर्षको दसैं सचेत र सामान्य रूपमा मनाउनुपर्ने बताएका थिए । उनीहरूले चाडपर्वमा अनावश्यक तडकभडक गर्नुभन्दा नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, लय संग्रौला, रविन्द्र खड्का, आकाश अधिकारी, भूइँसाल लामा, मनोज आचार्य र घनश्याम खतिवडाले कला, संस्कृति र चलचित्रले समाजको जनजीवनलाई प्रतिबिम्बित गर्ने बताए । उनीहरूले नेपाली जनशक्ति र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्वदेशी सेवाको प्रवर्द्धन गर्नुपर्ने धारणा राखे ।
संघका अध्यक्ष केसीले घटस्थापनाको अवसरमा बडादसैंको शुभकामना दिँदै नेपाली जनशक्ति, रोजगारी र अर्थतन्त्रलाई आधार बनाएको साथी मोबिलिटी प्रा.लि.को ‘साथी राइड’ लाई प्राथमिकता दिन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुल र एनके डान्स ग्रुपले सामूहिक नृत्य तथा सविता कार्की र सम्वृद्धि भण्डारीले दसैं विशेष नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा साथी राइड एप डाउनलोड गर्ने राइडर तथा प्रयोगकर्तामध्ये पाँच-पाँच जनालाई गोलाप्रथामार्फत पुरस्कार प्रदान गरिएको थियो । राइडरहरूलाई हेलमेट र प्रयोगकर्ताहरूलाई एयरबड वितरण गरिएको थियो । सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुति दिने सहभागीहरूलाई प्रमाणपत्र र विशिष्ट कलाकर्मीहरूलाई उपहारस्वरूप कप प्रदान गरिएको थियो।
कार्यक्रममा गायकहरू आनन्द कार्की, राजन चौलागाई, विनोद ढकाल, सुमित खड्का र कृष्णराज भण्डारी तथा गायिकाहरू सारिका घिमिरे, अनु गौतमले सांगितिक प्रस्तुति राखेका थिए ।
प्रतिक्रिया 4