२१ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरेको छ ।
चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट कुल १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरको पटका बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट पटका बरामद भएको छ । त्यसैगरी कोशी, लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशबाट समेत पटका बरामद गरिएको सशस्त्रले जनाएको छ।
जस अनुसार मधेस प्रदेशमा ७४ लाख ३१ हजार ९ सय ९ रुपैयाँ, कोशिमा ११ लाख ४९ हजार ३ सय ५० रुपैयाँ ,लुम्बिनीमा १८ लाख ३२ हजार २ सय १२ रुपैयाँ, बागमतीमा २ लाख ३५ हजार र सुदुर पश्चिम प्रदेशबाट १४ लाख ८० हजार ३ सय ९८ रुपैयाँ बराबरको पटका बरामद भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ५९ हजार ५ सय ४० रुपैयाँ बराबरको पटका थप बरामद भएको छ ।
तिहार तथा छठ पर्वका समयमा अवैध रूपमा पटका भित्र्याउने, ओसारपसार गर्ने तथा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्रता दिएको सशस्त्रले जनाएको छ ।
प्रतिक्रिया 4