News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनमा आर्थिक चलखेल भएको हल्लाका भरमा प्रश्न नउठाउन आग्रह गरेका छन्।
- शर्माले आफू र गगन थापाले पार्टी नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको आरोपको खण्डन गर्दै अपुष्ट दाबीको पछि नलाग्न कार्यकर्तालाई सचेत गराए।
- उनले कांग्रेसका विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका प्रक्रिया पार्टीको विधि, विधान र पद्धतिअनुसार सम्पन्न भएको दाबी गरे।
२३ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका हल्लाका भरमा प्रश्न नउठाउन आग्रह गरेका छन्।
सोमबार कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै बिचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँ लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताए।
उनले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको जिकिर गरे ।
आफू र गगन थापाले पार्टी नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको खण्डन गर्दै उनले पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूको राजनीतिक तथा आर्थिक हैसियत तुलना गरेर हेर्न आग्रह गरे।
‘राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली कांग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको छ,’ उनले भने, ‘अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्छ। अब अध्ययन, मिहिनेत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ।’
कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई अदालत वा कानुनले सीधै प्रमाणका रूपमा स्वीकार नगर्ने भन्दै उनले सामाजिक सञ्जालका अपुष्ट दाबीको पछि नलाग्न कार्यकर्तालाई सचेत गराए।
शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान र पद्धतिअनुसार नै सम्पन्न भएको दाबी गरे। महाधिवेशन प्रतिनिधिहरूको निर्णय नै अन्तिम हुने भन्दै उनले यसबारे अनावश्यक भ्रम सिर्जना नगर्न जोड दिए।
काभ्रे कांग्रेसलाई सङ्गठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुन निर्देशन दिँदै शर्माले अनुभवी नेतृत्व र युवा पुस्ताको सहकार्यमा पार्टीलाई गाउँ, टोल र जनताको घरदैलोसम्म पुर्याउनुपर्ने बताए। कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्रै समाजमा नयाँ विश्वास स्थापित गर्न सकिने उनको भनाइ थियो।
प्रतिक्रिया 4