
३१ भदौ, काठमाडौं । चीनमा एमबीबीएस अध्ययन गरेर आएका विद्यार्थीहरुले लामो समय भइसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।
चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शन उत्रिनु परेको उनीहरुले गुनासो गरेका छन् ।
उनीहरुले प्लेकार्डमा ‘इन्टर्नसीपमा किन ढिला सुस्ती ?, अझै कति पर्खिने ?, १२ दिन भनी १-२ महिना कुरायौ अब कति कुराउँछौं ?, स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ लगायतका नारासहित मंगलबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।
यसका साथै उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ समेत प्लेकार्डमा लेखेर ध्यानाकर्षण गराएका छन् ।
उक्त ३ नम्बर बुँदामा ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसीप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउनेछ । यस प्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्नेछ ।’ उल्लेख छ ।
प्रतिक्रिया 4