
६ असोज, काठमाडौं । विनियोजन विधेयक (बजेट)माथि राष्ट्रियसभामा कुनै पनि संशोधन प्रस्ताव परेको छैन ।
प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गर्न ४८ घण्टाको समय दिइएको थियो । तर, निर्धारित समयमा कुनै पनि सांसदले संशोधन नहालेका हुन् ।
विनियोजन विधेयकमाथि दफावार छलफलका लागि बिहीबार बैठक बस्दैछ । संशोधन प्रस्ताव नपरेको पृष्ठभूमिमा बिहीबार दफावार छलफल सकाएर विनियोजन विधेयक पारित गर्ने तयारी छ ।
‘विनियोजन विधेयकमाथि कुनै संशोधन प्रस्ताव आएको छैन । यसकारण भोलि विनियोजन विधेयक पास हुने सम्भावना छ,’ राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले अनलाइनखबरसँग भने ।
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित भएपछि पुनः प्रतिनिधिसभामा जान्छ । त्यसलाई प्रतिनिधिसभाले स्वीकार गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुन्छ र कार्यान्वयनमा जान्छ । राष्ट्रपतिबाट यो विधेयक प्रमाणीकरण भएपछि सरकारलाई प्रतिस्थापन विधेयक अनुसार बजेट खर्च गर्ने कानूनी बाटो खुल्नेछ ।
बजेट आश्रित विधेयक पास गर्ने कार्यसूची
संघीय संसद सचिवालयले बिहीबार प्रतिनिधिसभाबाट बजेट आश्रित दुईवटा विधेयक पास गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा बैठक दिउँसो २ बजे बस्दैछ । संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । संसद सचिवालयका अनुसार बिहीबार प्रतिनिधिसभाबाट बजेट आश्रित ‘आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ पारित गर्ने कार्यसूची छ ।
एमालेको नाराबाजी नरोकिने
प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संसदमा नाराबाजी नरोक्ने भएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै सभामुखको निर्णय पनि बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ ।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश नदिएर नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय झिकाउन आदेश दिएको छ ।
सर्वोच्चको यस्तो आदेशका कारण संसदमा एमालेले आफनो भूमिकामा कुनै फेरबदल गर्छ कि गर्दैन ? भन्ने प्रश्नमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘सर्वोच्चले दल दर्ताको फाइल मागेको छ । सभामुखको निर्णय मागेको छ । त्यसलाई हेरेर हाम्रो भूमिका संसदमा फेरिँदैन । अवरोध जारी रहन्छ ।’
२३ भदौमा शुरु भएको संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेले सभामुख सापकोटाले दलहरुलाई समान व्यवहार नगरेको भनी आलोचना गर्दै आएको छ ।
प्रतिक्रिया 4