+
+

देउवा–मोदी भेट : नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेशको अनुमति दिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते ८:३२

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता भएको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा गएको बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले महेन्द्रनगर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेश विन्दुलाई अनुमति दिन र रासायनिक मलको सहज आपूर्ति गर्न आग्रह गरेका थिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले अनुरोध गरिराखेको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज इन्ट्री गर्ने प्वाइन्ट स्वीकृति दिनुपर्यो भन्ने कुरा गर्नुभयो । उहाँले चाहिं तपाईंहरुको आवश्यकता, तपाईंहरुको खाँचोलाई हामीले सकारात्मक रुपमा हेर्छौं भन्नुभयो,’ सचिव पौड्यालले भने ।

नेपाल र भारतबीच पछिल्लो समय दार्चुलामा एसएसबीले तुइन खुस्काइदिंदा जयसिंह धामी बेपत्ता भएको घटना, सीमा समस्या लगायतका विषयबारे भने छलफल भए/नभएको कुरा नेपाल र भारत दुबै देशका अधिकारीहरुले खुलाएका छैनन्

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकता र खाँचोलाई सकारात्मक रुपमा लिने बचन दिएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री देउवाले भारतको सदभाव पाइराखेको भन्दै रासायनिक मलको आपूर्ति निरन्तर रहोस् भन्ने विषयमा अनुरोध गरेका थिए । सो विषयमा मोदीले भारतको आवश्यकता जे हो त्यही आवश्यकता नेपालको पनि हो भन्ने ठानेर पूर्ण सहयोगको वचन दिएको सचिव पौड्यालले बताए ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण, पूर्वाधार पुनर्निर्माण, पेट्रोलियम पाइपलाइन, रेलवे निर्माणमा सहयोग गरेकोमा भारतलाई धन्यवाद दिंदै भारतीय सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

नेपाल र भारतबीच पछिल्लो समय दार्चुलामा एसएसबीले तुइन खुस्काइदिंदा जयसिंह धामी बेपत्ता भएको घटना, सीमा समस्या लगायतका विषयबारे भने छलफल भए/नभएको कुरा नेपाल र भारत दुबै देशका अधिकारीहरुले खुलाएका छैनन् । परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सीमा समस्या र एसएसबीको ज्यादतीको विषय उल्लेख नगरिएकाले प्रधानमन्त्री देउवाले यो विषयलाई नउठाएको बुझ्न सकिन्छ ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा समकक्षी देउवासँग कुराकानी भएको जानकारी दिएका छन् । मुख्यगरी विश्वको महामारी र दिगो विकासलाई अगाडि बढाउने विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् ।

भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृंगाला लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?