 
																			४ पुस, बार्सिलोना । नोभेम्बर दोस्रो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका चार आप्रवासीहरुमध्ये एक जना नेपालीको पहिचान खुलेको छ ।
नेपाली राजदूतावास भियनाका अनुसार चार जनामध्ये एकजना मृतक गौरीगंगा नगरपालिका-४ कैलाली घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा हुन् । अन्यको सनाखत हुन बाँकी छ ।
गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । ‘हालसम्म एक जना नेपालीको मात्रै सनाखत भएको छ । बाँकी शवहरुको पनि सनाखत प्रक्रिया हुँदैछ,’ नेपाली राजदूतावास भियनाका द्वितीय सचिव धनञ्जय मेहताले अनलाइनखबरसँग भने, ‘ग्रिस प्रहरीले फोटो हेरेर उनको सजिलै पहिचान गर्यो ।’
पहिचान नभएका मृतक व्यक्तिहरुका फोटो इन्टरपोलमा राखेर आफन्तबाट पहिचान गराउने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए । ‘सुरुमा ग्रिसका अधिकारीहरुले डिएनएबाट नै सनाखत गर्ने बताए पनि अहिले इन्टरपोलमा फोटो राखेर आफन्तबाट पहिचान गराउने प्रक्रियामा सुरु भएको छ । बाँकी शवहरुको पनि आफन्तबाट भेरिफाई गर्ने प्रक्रियामा छौं । यो प्रक्रिया छिट्टै सकाएर शवहरु आफन्तकहाँ पठाउन हामीले सहयोग गर्छौं ।’
अरु मृतक पनि नेपाली नै हुन् : पोखरेल
मृतकका कुन देशका हुन् भन्ने एकिनका साथ भन्न सकिएको छैन । तर ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले भने अस्पतालमा अलपत्र परेका ती शवहरु नेपालीकै भएको दाबी गरेका छन् । ‘म आफैंले अस्पतालमा मृतकका फोटो देखेर आएपछि नेपालीहरु नै हुन् भन्नेमा कुनै शंका रहेन । तर परिवारका सदस्यले यो मेरो मान्छे हो नभनेसम्म प्रक्रिया अघि बढ्ने स्थिति देखिएन,’ उनले थपे ।
विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई सनाखतको प्रक्रियाबारे बुझ्न नेपाली राजदूतावास भियनाले अख्तियारी पत्र दिएको थियो । उनी दूतावासको पत्र लिएर प्रक्रियाबारे बुझ्न अस्पताल पुगेका थिए ।
‘मैले चार जनाकै फोटो लिएर गएको थिएँ । अस्पतालले उपलब्ध गराएको मृतकहरुको फोटामध्ये तीन वटा फोटोसँग मिल्दो पाएँ । एक जनाको प्रष्ट भएन,’ पोखरेलले भने ।
दुर्घटनामा बाँच्न सफल दुई नेपालीले के भनेका थिए ?
भीमेश्वर नगरपालिका-९ दोलखा घर बताउने ३३ वर्षीय मनु लामा र गौरीगंगा नगरपालिका-४ राजीपुर कैलालीका ३० वषर्ीय लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल घाइतेहरु हुन् । मंसिर ८ मा घाइते भएका लामा र आचार्य अनलाइनखबरको सम्पर्कमा आएका थिए । उनीहरुबाट नै सो गाडीमा सवार अन्य नेपालीहरुको नाम खुलेको हो ।
अस्पतालबाट डिस्चार्ज भएका यी दुई जनालाई कैलालीका जीवलाल कंडेलले सोलोनिकीबाट एथेन्स पुर्याएका थिए । हाल उनीहरु ग्रिसको एथेन्स सहरमै रहेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै मनु लामा र लोकराज आचार्यले आफूहरु भाग्यले बाँचेको बताएका थिए । ‘टर्कीबाट १३ दिन जंगलको बाटो हिँडेर १४ दिनको दिनमा हामीले गाडी चढेको हो । त्यसको केही मिनेटमा नै दुर्घटनामा पर्यौं,’ लामाले अनलाइनखबरसँग भने ।
‘लक्ष्मण, राजु, लोकराज, म र एकजना अफगानी गरी हामी पाँच जना गाडीको डिक्कीमा थियौं । शर्मिला, ओम अन्य पाकिस्तानी, अफगानी र ड्राइभरसहित १० जना अगाडि थिए,’ उनले घटना स्मरण गर्दै भने, ‘गाडी हिँडेको आधा घण्टामा दुर्घटना भएको हो । लौ पुलिसले गाडी पछ्यायो भन्दै पाकिस्तानी बोलेको मैले डिक्कीमा सुनेको थिएँ । त्यसपछि गाडी झनै स्पिडमा गुड्यो । कन्ट्रोल भएन । एक्कासी ठोक्किएको आवाज आयो ।’
घटनापछि आफू बेहोस भएको उनले सुनाए । ‘अस्पताल पुगेको भोलिपल्ट मात्रै मेरो होश आएको हो । शरीर एकदमै दुख्यो । कानमा अलि चोट लागेको हो । तर अहिले सबै सामान्य नै छ,’ लामाले भने ।
अर्का घाइते आचार्यको भने वायाँ हात भाँच्चिएको छ । ‘हामी ड्राइभरपट्टीकै साइडमा थियौं । त्यही साइडमा ठोक्किएको चर्को आवाज आयो । त्यसपछि मलाई केही थाहा छैन । म बेहोस भएछु’ उनले सुनाए ।
हातमा अहिले केही दुखाइ भएपनि अरु अवस्था सामान्य नै रहेको आचार्य बताउँछन् । उनीहरूका अनुसार गाडी पल्टिएको नभई प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर ठोक्किएको मात्रै हो ।
‘गाडी त्यति ठूलो आकारको होइन । यहाँका पहेंलो ट्याक्सी जत्रै आकारको तर कालो रंगको गाडी थियो,’ उनले भने । ओभरलोड, त्यसमाथि तीब्र गतिमा गाडी गुडेको हुँदा दुर्घटनामा परेको आंशका गरिएको छ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4