+
+

बलात्कारको घटना लुकाउन आर्थिक लेनदेन, जनप्रतिनिधिसहित ५ जना पक्राउ

जनक विष्ट जनक विष्ट
२०७८ पुष २५ गते १२:०५

२५ पुस, धनगढी । कैलालीमा ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गराएको खुलेको छ । यो घटनामा मुछिएको भन्दै प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले ७७ वर्षीया बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

अनुसन्धानका क्रममा घोडाघोडी नगरपालिका-४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।

आर्थिक लेनदेनमा कुरा नमिलेपछि घटना बाहिरियो

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-४ मा गत मंसिर १५ गते स्थानीय ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको थियो । उनका छोराले सोही दिन प्रहरीमा उजुरी दिन खोज्दा स्थानीय जनप्रतिनिधिलगायतले मिलापत्र गराएका थिए ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पीडकले पीडित पक्षलाई नगद तीन लाख रुपैयाँ दिने सहमति गरेर मिलापत्र गराएको पाइएको छ । तर सहमति बमोजिम पूरै रकम नदिइएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

पीडितका छोराले आरोपीबाट नगद दुई लाख रुपैयाँमात्र बुझेको बताएका छन् । ‘उनका छोराले आमामाथि बलात्कार भएको थाहा पाएकै दिन प्रहरीमा मुद्दा दर्ता गर्न खोजे पनि जनप्रतिनिधिलगायतका स्थानीयले झुुक्काएर मिलापत्र गरिदिएको बयान प्रहरीलाई दिएका छन्,’ प्रहरी अधिकृतले भने ।

यसअघि सुदूरपश्चिमको बैतडीमा १८ वर्षीया एक युवतीमाथि भएको बलात्कारको घटना लुकाउन एक तोला सुन दिने गरी कपाली तमसुक गरिएको सार्वजनिक भएको थियो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?