+
+

मधेश आएका गण्डकीका मुख्यमन्त्री पोखरेलले चढे रेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते १६:५०

२१ फागुन, जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने भ्रमणका क्रममा मधेश प्रदेश आएका छन् ।

शनिबार बिहान बुद्ध एयरको जहाजबाट मधेशको राजधानी जनकपुरधाम आइपुगेका उनलाई यहाँका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।

मधेश प्रदेशको भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले रेल पनि चढेका छन् । जयनगरबाट खुलेको नेपाली रेल जनकपुर आउँदा दुबै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सरकारी पदाधिकारी रेल चढेर कुर्थासम्म पुगे । कुर्थाबाट पुनः उनीहरु फर्केर जनकपुरधाम आएका छन् ।

रेल चढ्न जनकपुरधाम रेल्वे स्टेशन पुगेका मुख्यमन्त्री पोखरेलले शासन व्यवस्था परिवर्तन भएपनि संघीयतालाई मजबुत बनाउने काम नभएको बताए । संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले संघीयताको ऐना नै प्रदेश रहेको र प्रदेशलाई मजबुत बनाउन नसकिए संघीयता मजबुत बन्न नसक्ने धारणा राखे ।

उनले पहिलाको एकल बहुमतको सरकार हटेर पाँच राजनीतिक दलको गठबन्धनको सरकार बनेपनि संघीयतालाई मजबुत बनाउने सवालमा तात्विक भिन्नता नदेखिएको बताए । ‘जुन–जुन कुराले संघीयता मजबुत भएन भनिरहेका छौं, अहिले पनि त्यही अवस्था छ’ मुख्यमन्त्री पोखरेलले भने ।

उनले संघीयतालाई मजबुत बनाउन सातैं प्रदेशका मुख्यमन्त्रीले राष्ट्रियस्तरमा सामूहिक रुपमा आवाज उठाउनुपर्ने बताए । ‘यसबाहेक अन्तरप्रदेशीय बैठकमा पनि यसबारे कुरा राख्नुपर्छ’ मुख्यमन्त्री पोखरेलले भने ।

प्रदेशहरु अस्तित्वमा आइसकेपछि अन्तरप्रदेश आदान प्रदान हुनुपर्ने मान्यता अनुसार आफू मधेशमा र मधेशका मुख्यमन्त्री गण्डकीमा पुगेको उनको भनाइ छ । दुबै प्रदेशको विकासमा साझेदारी गर्न पनि भ्रमण प्रभावकारी हुने उनले बताए ।

मुख्यमन्त्री पोखरेलले जनकपुरधाम रेल्वे स्टेशनमा अशोकका विरुवा पनि रोपेका छन् ।

यस्तो छ मधेशमा कार्यक्रम

शनिबार जनकपुरधाम आएका पोखरेल आईतबार पोखरा प्रस्थान गर्नेछन् । यसबीचमा उनले जनकपुरधाम–धनुषाधाम मन्दिरमा पूजापाठ गर्नेछन् भने शनिबारै साँझ मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँग अन्तर्क्रिया गर्नेछन् । यसपछि उनी गंगासागर आरतीमा सरिक हुनेछन् ।

आइतबार बिहान जानकी मन्दिर, राजदेवी र राम मन्दिरमा पूजापाठ गरेर बर्दिबासमा खाजा खाने कार्यक्रम राखिएको छ । त्यसपछि महोत्तरीको टुटेश्वर महादेव मन्दिरमा पूजा गर्दै सर्लाहीको भरत ताल र रौतहटको नुनथर तालको अवलोकन गर्नेछन् ।

मुख्यमन्त्री पोखरेलले पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाइ मन्दिरमा पूजा गरी जनकपुरधाम फर्किनेछन् ।

सोमबार भने महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेपछि खाजा खुवाएर उनको बिदाइ गर्ने कार्यक्रम रहेको मधेश प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?