+
+

त्रिभुवन विमानस्थलको प्रतीक्षालयमा आफन्त कुर्दा सय रुपैयाँसम्म शुल्क

आईएमएस एयरपोर्ट सर्भिसले त्रिभुवन विमानस्थलको आगनतर्फको प्रतीक्षालयमा बसेर आफन्त कुर्ने व्यक्तिसँग प्रतिव्यक्ति एक सय रुपैयाँसम्म शुल्क लिने गरेको छ । कम्पनीले ‘सुपररियर’ र ‘डिलक्स’ रुम नै छुट्याएर शुल्क लिने गरेको छ ।

शंकर गिरी शंकर गिरी
२०७८ चैत ८ गते २१:०३

८ चैत, काठमाडौं । साउदी अरेबियाबाट फर्किंदै गरेकी नातिनी लिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको लामो टहरामा नुवाकोटकी ६९ वर्षीया कान्छीमाया दोङलाई आधा घण्टाभन्दा बढी उभिन समस्या पर्‍यो । आगमन कक्षको एउटा प्रतीक्षालयमा मान्छेहरु बसिरहेको देखेपछि त्यतै जान लाग्दा सेक्युरिटी गार्डले दोङलाई रोक्दै भने, ‘कुर्सीमा बस्ने भए टिकट काटेर आउनुस्’ ।

विमानस्थलमा यसअघि पनि नातिनी लिन पटक–पटक आउँदा उनलाई टिकट काटेर प्रतीक्षालयमा बस्नु परेको थिएन । उनी टिकट काउन्टरमा पुगेर टिकट माग्दा सोधियो, ५० रुपैयाँको लिने कि एक सयको ? ‘नातिनीले ट्याक्सी चढ्न एक हजार जति ल्याउनु भनेकी थिई, त्यही भएर धैरै पैसा बोकेर आइनँ’ उनले अनलाइनखबरसँग गुनासो पोख्दै भनिन्, ‘अब एयरपोर्टमा आफ्ना मान्छे कुर्न पनि सय रुपैयाँ चाहिने भएछ ।’ उनी त्यसपछि फेरि त्यही लामो टहरोको भीडमा गएर उभिइन् । पैसा हुनेहरु टिकट काट्दै प्रतीक्षालयमा पुगिरहँदा दोङको अनुहार भने मलिन थियो ।

त्रिभुवन विमानस्थलमा करिब ३ महिनादेखि आगमनतर्फ जाने यात्रुलाई प्रतीक्षालयमा बस्नका लागि शुल्क लिन थालिएको छ । त्रिभुवन विमानस्थलले आगनतर्फको भागको व्यवस्थापन ‘आईएमएस एयरपोर्ट सर्भिस’लाई जिम्मा लगाएपछि त्यहाँ जाने यात्रुका आफन्त तथा साथीभाइ अनेक बहानामा ठगिन थालेका छन् । कम्पनीले ‘सुपररियर’ र ‘डिलक्स’ रुम छुट्याएर शुल्क तिर्नेहरुलाई आगमन कक्षको भित्रैसम्म जान दिने गरेको छ । प्रतिव्यक्ति सय रुपैयाँ तिर्नेहरुले त यात्रुलाई आगमन कक्षको भित्री भागसम्मै पुगेर स्वागत गर्न पाउँछन् ।

कतारबाट फर्किएका भाइ लिन राजविराजदेखि काठमाडौं आएका रमेशकुमार महतो यसलाई विभेदकारी व्यवस्था भन्छन् । पैसा नहुनेले विमानस्थलमा घण्टौं प्रतीक्षा गर्दा आनन्दसँग बस्न नपाइनु दुःखद् भएको उनको भनाइ छ ।

‘एराइभल (आगमन) विमानस्थलको टर्मिनलमै हुँदा भित्रै यात्रु प्रतीक्षालय थियो, यात्रुले पानी निःशुल्क पिउन पाउँथे, मोबाइल चार्ज गर्न पाउँथे’ उनी भन्छन्, ‘अहिले बाहिरै भीड लागेर बस्नुपर्ने भएछ, कमसेकम बिरामी, वृद्धवृद्धा, बालबच्चा र अपांगता भएकाहरुको त ख्याल गर्नुपर्ने हो ।’

महतो सबैले विमानस्थलले तोकेको शुल्क तिरेर प्रतीक्षालयमा बस्न नसक्ने बताए । कतिपय त परिवार नै स्वागतका लागि आउने भएकाले प्रतीक्षा गर्दा नै ठूलो रकम खर्चिनुपर्ने देखिएको उनको भनाइ छ ।

विमानस्थलमा आएकाहरु पार्किङ शुल्क पनि महँगो भएको गुनासो गर्छन् । ट्याक्सीहरुको दादागिरी अझै पनि व्यवस्थापन नभएको भन्दै उनीहरुले ठगी झन् मौलाएको गुनासो गर्छन् । त्यहाँ बनेको व्यापारिक भवनमा रेस्टुरेन्टसहित अन्य सेवा पनि महँगो भएको उनीहरुको भनाइ छ ।

त्रिभुवन विमानस्थलको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर प्रतीक्षालयमा बस्ने कि नबस्ने भन्ने स्वेच्छिक विषय भएको बताउँछन् । निर्माण, स्वामित्व, सञ्चालन र हन्तान्तरण मोडलमा आगमन क्षेत्रको व्यवस्थापन गरिरहेको आईएमएस एयरपोर्ट सर्भिसले आम्दानीका लागि यसो गर्नु स्वाभाविक भएको ठाकुरको भनाइ छ ।

‘कम्पनीले गर्ने आम्दीको रोयल्टी हामीले पनि पाउँछौं, कसैले एयर कन्डिसनर जोडिएको सफा कक्षमा बसेर आफ्नो यात्रु कुर्न चाहन्छ भने न्यूनतम तोकिएको रकम तिर्नुपर्छ’ उनले भने, ‘धेरैले गुनासो गरेको सुन्छु, तर यसलाई अस्वाभाविभक मान्नुहुन्न ।’

तर, वृद्धवृद्धा र अशक्तलाई अवस्था हेरेर मानवीयताका आधारमा भित्र जान दिन कम्पनीलाई अनुरोध गरिएको उनको भनाइ छ । तर, आईएमएसको पनि व्यवसाय भएकाले सबैलाई आगमनतर्फको प्रतीक्षालयमा बस्न दिनुस् भन्न नसकिने ठाकुरले बताए ।

एयरपोर्टमा यसरी यात्रुसँग पैसा उठाइरहेको आईएमएस एयरपोर्ट सर्भिस व्यवसायी दीपक मल्होत्राको कम्पनी हो । ७ कात्तिक २०६९ मा साविक ‘रसुवा केडी जेभी’सँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक करिब ७० लाख रुपैयाँ भाडा लिने गरी ३० वर्षका लागि जग्गा भाडामा लगाउने सम्बन्धी सम्झौता गरेको थियो ।

समयमै नबनेपछि विमानस्थलसँग नै कम्पनीको भाडा विवाद छ । करिब ५१ रोपनी सरकारी जग्गामा हालीमुहाली गरिरहेको निजी कम्पनी भने भाडा छल्न र ‘लिज’ अवधि लम्ब्याउन अनेकन् तानाबाना बुन्दै आएको छ ।

तत्कालीन समयमा अर्थ मन्त्रालयसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा प्रवेशद्वारसँगैको जग्गामा हवाई यात्रुबाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षालय कक्ष, चमेना गृह, पर्यटकका लागि मनोरञ्जन पार्क, बगैंचा, बालबालिका क्रीडास्थल, व्यावसायिक भवन लगायत बनाउन विमानस्थल कार्यालयलाई स्वीकृति दिएको थियो ।

त्यसैअनुसार विमानस्थलको मुख्य गेटसँगैको ५० रोपनी १५ कट्ठा–३ धुर १ पैसा जग्गा ‘रसुवा केडी जेभी’ले भाडामा लिएको हो । सम्झौता गरेको रसुवा केडी जेभीमा रहेका विमल पोद्दार ३३ किलो सुन प्रकरणमा मुछिएपछि सो कम्पनीको स्वामित्व ‘आईएमएस एयरपोर्ट सर्भिस’ले लियो ।

आईएमएसले जग्गा भाडामा लिएपछि अनेकन् बदमासी गर्‍यो । विमानस्थलको सुरक्षामा चुनौती थप्दै सम्झौतामा उल्लेख भएभन्दा बढी तलाको भवन पनि बनाएको छ । सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिने विमानस्थल क्षेत्रभित्रै आईएमएसले पूर्वस्वीकृत डिजाइन मिचेर अग्लो भवन बनाउँदा विमानस्थलले देखे/नदेखेझैं गरेको थियो ।

अहिले आगमनतर्फको भागमा पनि कम्पनीले मनलाग्दी पूर्वाधार बनाएर मनपरी शुल्क असुलिरहँदा विमानस्थल कार्यालय र प्राधिकरण मौन बसेका छन् ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?