+
+

काभ्रेमा एमाले र माओवादीबीच तालमेलको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:१६

११ वैशाख, काभ्रे । काभ्रेमा नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेलको प्रयास गरेको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालेमल गर्ने सहमति भएपछि काभ्रेमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुट्न सकेन ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य रुकु चौलागाईं, कांग्रेसले आफूहरुलाई हेपेकाले सहमति हुन नसकेको बताउँछिन् । ‘काभ्रेमा सत्ता गठबन्धनबीच सहमति हुने सम्भावना कम छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘कांग्रेसले माआवादीलाई हेप्यो । सम्मानजनक सहकार्य गर्न कांग्रेस तयार भएन ।’

कांग्रेसले १३ पालिकामध्ये बनेपा, धुलिखेल र पनौती तीन वटै नगरपालिकासहित ९ वटा आफूले लिने र माओवादीलाई तीनवटा मात्रै दिने प्रस्ताव गरेको छ । माओवादीले भने पाँच वटामा दाबी गरेको छ । चौलागाईंले भनिन्, ‘मिलेर जाने सन्दर्भमा हामी पाँच वटामा सहमत हुनसक्छौं ।’

कांग्रेससँग समहमति जुट्न नसकेपछि माओवादी केन्द्रका नेताहरुले शनिबार मध्यान्हदेखि एमालेसँग सम्वाद अघि बढाएको छ । कांग्रेससँग तालमेल नगर्ने टुंगो गरेको अवस्थामा मिलेर जान एमाले नेताहरु सकारात्मक देखिएका छन् । एमाले जिल्ला अध्यक्ष अशोक ब्यान्जुले माओवादीसँग छलफल भएको तर कुनै टुंगोमा नपुगेको बताए । ‘प्रराम्भिक छलफल भएको छ,’ उनले भने, ‘फेरि बस्ने बस्ने कुरा भएको छ ।’

चौलागाईंले पनि एमालेसँग सम्वाद भएको स्वीकार गरिन् । ‘गठबन्धन नहुने भयो भनेपछि अरुसँग छलफल हुनु अन्यथा होइन,’ उनले भनिन्, ‘एमालेले ५० प्रतिशत र त्यो भन्दा बढी पनि दिन्छौं, बसौं भन्ने कुरा राख्नु भएको छ । तर हामी बाँडफाँटको प्रसंगमा प्रवेश गरेका छैनौं ।’

२०७४ को निर्वाचनमा नेकपा एमालेले ७, नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ पालिका जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?