
२६ वैशाख, सुनसरी । दुहवी नगरपालिकामा नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएकी गीतादेवी चौधरी हाल चुनाव प्रचार प्रसारमा छिन् । एमालेबाट उपमेयरको टिकट पाउने आशामा रहेकी उनी पार्टीले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि उनी उम्मेवारीबाट वञ्चित भइन् ।
‘एमालेले दुहबीको उपमेयरका लागि ६ जनाको नाम जिल्ला तहमा पठायो । तर पार्टीले पत्याएन। पुरूषलाई नै उमपेयरमा उम्मेदवार बनायो। त्यसकारण स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएँ’ उनले भनिन् ।
उनका अनुसार दुहबीको मेयरमा एमालेका उम्मेदवार विनय पोखरेल छन् भने उपमेयरमा जसपाका सरोज सिंहलाई समर्थन गरेको छ ।
चौधरीले ३५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेकी छिन् । जसमा सामाजिक सुरक्षाका कार्यक्रम बढाउँदै लैजाने, नगरलाई वातावरणमैत्री बनाउने, उद्योग तथा कलकारखानालाई ४० प्रतिशतसम्म लगानी सुनिश्चित गरिदिने आदि छन् ।
उनले निर्वाचन आयोगबाट हाँस चुनाव चिह्न पाएकी छन् । मतदाताले पार्टीभन्दा पनि काम गर्ने व्यक्तिलाई चयन गर्नेमा उनी विश्वस्त छिन् ।
दुहबीको मेयरमा भगवतलाल चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०४८ सालमा नेपाली कांग्रेसबाट दुहबी-१० सिमरियाको वडाध्यक्षमा निर्वाचित भएका चौधरीले नगरपालिकालाई भ्रष्टचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘ स्थानीय तहमा जनताले पार्टीलाई नभएर राम्रो र पहिचान भएको व्यक्तिलाई चयन गर्नेमा विश्वस्त भएर स्वतन्त्रबाट उठेको छु।’
कांग्रेसबाट राजनीति गर्दैगर्दा सहयोग नपाएको बताएका चौधरीले राप्रपामा लागेर अवसर खोजेका थिए । तर उनले त्यहाँबाट पनि उम्मेदवार बन्न नपाएपछि स्वतन्त्रबाटै उम्मेदवार बने ।
‘राप्रपाले हामी आदिवासी, सीमान्तकृतहरुका लागि केही गर्छ भन्ने थियो । तर, यहाँ त झन् हात्तीको देखाउने दाँत भने झैँ राप्रपाको हालत रहेछ भन्ने कुरा चुनाव आएपछि थाहा पाएँ । त्यसकारण स्वतन्त्रबाट उम्मेदवारी दिएँ’ उनले भने ।
चौधरीले नगरपालिकाभित्रका उद्योग कलकारखाना स्थापना, दुहबीका स्थानीयलाई रोजगारीको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । १२ वटा वडा रहेको दुहबी नगरपालिकामा थारु समुदायको बाहुल्य क्षेत्र हो ।
प्रतिक्रिया 4