
काठमाडौं । धुलिखेलको एक अनाथलयलाई सघाउन अभिनेता विक्रम जोशीले साइकलमार्फत लन्डनदेखि पेरिससम्मको यात्रा तय गर्ने भएका छन् । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’, ‘हेल्लो जिन्दगी’ फेम्ड नायकले ३८७ किमी साइकल यात्रा गर्न लागेका हुन् ।
उनको यो च्यारिटी यात्रामा एक टीम पनि सहभागी छ । शुक्रबार लन्डन ब्रिजदेखि सुरु हुने साइकल यात्रा पेरिसको प्रसिद्ध आइफेल टावर पुगेर समापन हुनेछ । यात्रा तय गर्न तीनदिन लाग्ने अभिनेता जोशीले जानकारी दिए ।
‘पाइडल घुमाउँदै लन्डनबाट पेरिस पुग्ने योजना छ’ जोशी भन्छन्, ‘साइकलमा यति लामो दूरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुँदैछ ।’ उनले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गरेका हुन् ।
जोशीले भने, ‘यात्राका लागि म करिब तीन सातायता दैनिक चार पाँच घण्टा साइकल कुदाइ रहेको छु ।’ लामो समयदेखि नियमित कसरत गर्दै आइरहेकाले छोटो समयको तयारीले पनि आफूलाई सफलता मिल्ने बिश्वास उनको छ ।
उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरुले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रु) संकलन गर्ने लक्ष्य लिएको उनले बताए ।
अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेको बताउँदै जोकोहीले पनि जस्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिएका छन् ।
काभ्रेको धुलीखेलमा हेल्प नेपाल नेटवर्कले संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई अर्थ सहयोग दिलाउन च्यारिटी साइकल टूर हुन लागेका हो ।
प्रतिक्रिया 4