+
+

लिग टू र नेपाली क्रिकेट

नेपालको लागि अहिले दुई मुख्य चुनौती छन् । एउटा शीर्ष तीनमा रहेर ग्लोबल छनोटमा पुग्ने अर्को एकदिवशीय मान्यता टिकाइराख्ने । त्यसका लागि नेपालले मैदानमा राम्रो प्रदर्शन गर्दै खेल जित्नुको अर्को विकल्प छैन ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ २६ गते २०:०६

२६ जेठ, काठमाडौं । भारतमा हुने आईसीसी एकदिवशीय विश्वकप छनोटको प्रारम्भिक खुट्किलोका रुपमा सुरु भएको तीनवर्षे प्रतियोगिता आईसीसी विश्वकप लिग टू सन् २०१९ देखि आयोजना भएको हो ।

तीन वर्षको अन्तरमा ९ त्रिकोणात्मक शृंखलाबाट हरेक टिमले ३६ खेल खेल्नुपर्ने तालिका कोरोना महामारीका कारण अस्तव्यस्त रह्यो । निर्धारित समय सकिन ६ महिना बाँकी रहँदा नेपालले ३ शृंखलाका १२ खेलमात्र खेलेको छ । यही प्रतियोगिता खेलिरहेको ओमानले ३२ खेल खेलिसकेको छ ।

बुधबारदेखि नेपालका लागि चौथो र ओमानका लागि अन्तिम शृंखला अमेरिकामा सुरु भएको छ । नेपालले आफ्नो पहिलो खेलमा बिहीबार राति (नेपालको समय) अमेरिकाको पर्ल्याण्डस्थि मोसा रंगशालामा ओमानसँग खेल्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यसअघि रहेको विश्व क्रिकेट लिग डिभिजनको संरचनामा परिमार्जन गर्दै २०१९ देखि एकदिवशीय विश्वकप छनोटको आधारको रुपमा नयाँ संरचनाको घोषणा गरेको हो । जसमा लिग टू दोस्रो तहको प्रतियोगिता हो । आईसीसीको १२ टेष्ट राष्ट्र (पूर्ण सदस्य)सहित नेदरल्याण्ड्सले आईसीसी सुपर लिग अन्तर्गत विभिन्न दुईपक्षीय शृंखलाहरु खेलिरहेको छ ।

नेपालसहित ओमान, स्कटल्याण्ड, युएई, अमेरिका, नामिबिया र पपुवा न्युगनी गरी सात राष्ट्रले लिग टू खेलिरहेका छन् । सुपर लिगमा रहेका १३ मध्ये आयोजक भारतसहित ८ राष्ट्र सिधै विश्वकपमा छनोट हुनेछन् । सोही प्रतियोगिताको पुछारमा रहेका पाँच टिम, लिग टूका सात र च्यालेन्ज लिगबाट आउने दुई टिम मध्येबाट दुई टोली विश्वकपमा छनोट हुनेछन् । आईसीसीको नियमअनुसार लिग टूका सातमध्ये शीर्ष तीन टिमले ग्लोवल क्वालिफायर खेल्नेछन् ।

अर्को वर्ष भारतमा हुने विश्वकपमा छनोट हुनका लागि नेपालको सम्भावना निकै कठिन देखिन्छ । सुपर लिगको अहिलेको अवस्था हेर्दा श्रीलंका, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, जिम्बावे र नेदरल्याण्ड्स अन्तिम पाँच स्थानमा छन् । यद्यपी उनीहरुले पनि धेरै खेल खेल्न बाँकी छ । यदि यही अवस्था अन्तिमसम्म रह्यो र नेपालले ग्लोवल क्वालिफायरमा प्रवेश पायो भने शीर्ष दुईभित्र रहनु असम्भवजस्तै हुनेछ ।

तर नेपालजस्तो एसोसिएट टोलीका लागि लिग टू को संरचनामा ९ शृंखला खेल्न पाउनु ठूलो अवसर हो । त्यसबाहेक चार वर्षअघि पाएको एकदिवशीय मान्यतालाई कायम राख्नेतर्फ नेपालको ध्यान हुनेछ । यसका लागि लिग टू अन्तर्गत बाँकी ६ शृंखलाको २४ खेल नेपालका लागि महत्वपूर्ण छन् । नेपालले अमेरिकाको शृंखलापछि जुलाईको अन्तिममा स्कटल्याण्ड र नामिवियासम्मिलित शृंखला खेल्ने निश्चित भइसकेको छ ।

क्रिकेट संरचना कमजोर हुँदा शृंखला आयोजना गर्न नसक्नु, कोरोना महामारीको असरलगायतका कारण नेपालले लिग टूबाट अपेक्षाकृत लाभ लिन सकिरहेको छैन । झण्डै तीन वर्षको अवधिमा यो प्रतियोगितामा नेपालले सबैभन्दा थोरै १२ खेल खेलेको छ ।

नेपालसँगै अमेरिकामा त्रिकोणात्मक शृंखला खेल्ने ओमानले ३३ खेल खेलिसकेको छ । नेपाल, अमेरिका र ओमान सम्मिलित यस शृंखलाको पहिलो खेलमा ओमानले अमेरिकासँग खेलिसकेको छ । अब ओमानले नेपालसँग दुई र अमेरिकासँग एक खेल खेल्न बाँकी छ । यस भ्रमणपछि ओमानको लिग टू मा सबै खेल सकिनेछ र शीर्ष तीनमा रहेर ग्लोबल छनोटमा पुग्ने लगभग पक्का छ । ओमानले ३३ खेलमा २० जितसहित शीर्ष स्थान कब्जा गरेको छ ।

अमेरिकामा नेपालको चुनौती

यसअघि नेपालले ओमान र अमेरिका सम्मिलित दुई शृंखला खेलेको छ । उक्त शृंखला नेपाल र ओमानमा भएको थियो । दुवैमा ४ खेल खेल्दा नेपालले २-२ खेल जितेको छ।

लिग टू मा नेपालको लागि ओमान र अमेरिका परिचित प्रतिद्वन्दी हुन् । नेपालले ओमानलाई १ पटक पारजित गर्दा ३ खेलमा हार बेहोरेको छ । अमेरिकाविरुद्ध भने नेपालको नतिजा राम्रो छ । नेपालले अमेरिकालाई ३ खेलमा हराउँदा एक खेल हारेको छ । यी तीन टिम सम्मिलित यो अन्तिम शृंखला हो ।

यसअघि दुई शृंखलाको लागि नेपाल र ओमान पुगेको अमेरिकाले यस पटक आफैँ शृंखला आयोजना गर्दा दाबेदार टोलीको रुपमा देखिएको छ । अमेरिकाको मौसम र त्यहाँको पिच र विकेट कन्डिसन फरक रहेकोले नेपाललाई त्यहाँ खेल्न त्यति सहज छैन । हुनत नेपालले १० दिनअघि नै ह्युस्टन पुगेर त्यहाँ दुई अभ्यास खेलेको थियो । मोसा स्टेडियममा पनि नेपालले प्रशिक्षण गरेको छ ।  पछिल्लो खेलहरुमा सो पीचमा तीन सयभन्दा बढी रन बनिरहेकाले नेपालको ब्याटिङप्रति सबैको चासो छ ।

अर्को नेपाली टिमका दुवै नियमित ओपनर अमेरिका पुगेपछि घाइते भए । पछिल्लो एक वर्ष नेपाली टिमको ओपनिङमा आशाको रुपमा उदाएका कुशल भुर्तेल र आसिफ शेख अभ्यास खेलका क्रममा घाइते भएपछि नेपालको ओपनिङमा फेरि चिन्ता बढेको छ । दुवै खेलाडीले पहिलो खेल खेल्न नसक्ने अवस्था देखिएपछि सुबास खकुरेललाई अमेरिकालाई बोलाइएको छ ।

अब ओपनरको विकल्पमा रहेका सुनिल धमला र सुवास खकुरेल ओपनिङ जोडीको रुपमा देखिने सम्भावना छ । सुनिल धमलाले सन् २०१७ मा केन्याविरुद्ध विश्व क्रिकेट लिगमा नेपालका लागि डेब्यु गरेका थिए । त्यसपछि अहिले राष्ट्रिय टिममा पुनरागमन गरेका उनले ओमानविरुद्ध खेलेमा एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गर्नेछन् ।

यस्तै सुवासले २०२० मा नेपालमै भएको लिग टू शृंखलामा शरद भेषावकर घाइते भएपछि रिप्लेसमेन्ट खेलाडीको रुपमा टिममा पर्दै ३ खेल खेलेका थिए । सुबासको अमेरिका कनेक्सन राम्रो रहे पनि पछिल्लो समय उनी राष्ट्रिय टिममा नियमित छैनन् ।

अबको बाटो

नेपालको लागि अहिले दुई मुख्य चुनौती छन् । एउटा शीर्ष तीनमा रहेर ग्लोबल छनोटमा पुग्ने अर्को एकदिवशीय मान्यता टिकाइराख्ने । त्यसका लागि नेपालले मैदानमा राम्रो प्रदर्शन गर्दै खेल जित्नुको अर्को विकल्प छैन । तर, अहिले नेपालको ध्यान अमेरिकामा हुने चार खेलमै केन्द्रित हुनेछ ।

प्रशिक्षक पुबुदु दासानायकेले अब अहिले एकदिवशीय मान्यता भन्दा पनि उत्कृष्ट प्रदर्शनमा जोड दिँदै आएका छन् ।

कप्तान सन्दीप लामिछानेले अमेरिका जानुअघि नेपालले ब्याटिङबाटै चारवटै खेल जिताउने विश्वास देखाएका थिए । तर, प्रमुख दुई खेलाडी घाइते हुनु र त्यहाँको फरक परिवेशले यो शृंखला नेपालका लागि अपेक्षाकृत सहज छैन ।

नेपालले लिग टूको राम्रो स्थानमा रहन लागि भने अमेरिका भ्रमण महत्वपूर्ण छ । चारवटै खेल जित्ने हो भने नेपालले नामिबियालाई पछि पार्दै अंकतालिकामा सुधार गर्नेछ ।

यसपछि नेपालले आगामी जुलाईमा अर्को स्कटल्याण्ड भ्रमण गर्नेछ जसमा नेपाल र स्कटल्याण्डसहित नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । लिग टू मा स्कटल्याण्ड र नामिबियासँग नेपालको त्यो पहिलो भेट हुनेछ । यी दुई शृंखलाको ८ खेलपछि नेपालको अवस्था लगभग प्रष्ट हुनेछ ।

त्यसपछि पनि नेपालले स्कटल्याण्ड र नामिबिया सम्मिलित दुई तथा युएई र पपुवा न्युगिनी (पीएनजी)सहितको दुई गरी चार शृंखला खेल्न बाँकी हुनेछ । अमेरिका भ्रमणपछि पनि नेपालले अझै २० खेल खेल्न बाँकी हुनेछ ।

केही समयअघि आईसीसीले लिग टू मा सहभागी टिमको बारेमा एक सामग्री प्रस्तुत गर्दै नेपालको अवस्था सन्तुलित रहेको जनाएको थियो । नेपालले अहिलेसम्म ५० प्रतिशत खेल जितेको छ ।

केही समयअअघि राष्ट्रिय टिमका सदस्य दीपेन्द्र सिंह ऐरीले अनलाइनखबरसँगको कुराकानीमा लिग टू मा नेपालको अहिलेसम्म प्रदर्शन औसत रहेको बताएका थिए ।

तस्वीरहरु : नेपाल क्रिकेट संघ

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?