
२८ असार, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आफ्नाविरुद्ध समाचार लेख्ने पत्रकारका विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन् ।
विराटनगरमा निर्माणाधीन ‘महानगर आवास परियोजना’का लागि विनियोजन भएको ७० लाख रुपैयाँ सम्झौता गरी निकासा गर्न विराटनगर महानगरपालिकालाई अनुचित दबाब दिएको आरोप लागेपछि विवादित बनेका मन्त्री कार्कीले आफ्नाविरुद्ध समाचार लेख्ने पत्रकारहरूले बलात्कार गर्यो भनेर लेख्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।
स्थानीय पत्रकारसँगको कुराकानीमा मन्त्री कार्कीले भने, ‘७० लाख कामै नगरीकन भुक्तानी मागे केदार कार्कीले भनेर जसले समाचार लेख्नुभयो । उहाँलाई तपाईंले अहिले भन्दिनुस् त, लेख्दिनुहोस् त, बलात्कार गर्यो भनेर, उसको नाममा (समाचार लेख्ने पत्रकार) । अनि होइन भन्ने कुरा उसले प्रमाणित गरोस् न ।’
उनी त्यतिमै रोकिएनन् । उनले फेरि भने, ‘लेख्नुभन्दा अगाडि चार पटक सोच्नु पर्छ । जसले जे भन्यो पत्रकारले त्यही लेख्दिने हो भने त पत्रकारलाई नै मैले तपाईंले बलात्कार गर्नुभयो भनेर, लेख्नुहोस् न ।’
महानगर आवास योजना अन्तरगत विराटनगर महानगरपालिका-१२ मा निर्माणाधीन ‘सम्पन्न बस्ती परियोजना’ का लागि प्रदेश सरकारले विनियोजन गरेको ७० लाख रुपैयाँ मन्त्री कार्कीले नौ दिनमा खर्च भएको कागज बनाउन महानगरपालिकालाई दबाब दिएको आरोप छ । मन्त्रीले भनेअनुसार महानगरपालिकाले नगरेपछि ७० लाख रुपैयाँ फ्रिज भएको छ ।
आवास परियोजनाका लागि प्रदेश सरकारले असार १६ गते महानगरपालिकालाई सशर्त अनुदान शीर्षकमा ७० लाख रुपैयाँ रकमान्तर गरेको थियो । यसअघि विनियोजन भएको ४० लाख रुपैयाँको काम पनि पूरा नभएको भन्दै थप सम्झौता गर्न महानगरपालिकाले नमानेपछि बजेट फिर्ता भएको हो ।
महानगरपालिकाका अनुसार असार १५ गते विनियोजन भएको बजेटको काम सम्पन्न भएको देखाउनका लागि असार २१ गते महानगरमा ताकेता आएको थियो । महानगरले खर्चका लागि सम्झौता नगर्ने बताएको थियो । ‘यसअघि विनियोजन भएको ४० लाख बजेटको काम अझै १५ प्रतिशत बाँकी छ,’ महानगरपालिका स्रोतले भन्यो, ‘ढिलो गरी बजेट आएका कारण सम्झौता गरेर खर्च गर्न सक्ने अवस्था थिएन ।’
मन्त्री कार्कीले भने बस्तीमा धेरै काम भएको दाबी गरेका छन् । यसअघि बस्तीमा पत्रकार सम्मेलन गर्दै उनले बजेटको भन्दा धेरै काम भएको दाबी गरेका थिए । उनका अनुसार बस्तीमा ३ करोड ६३ लाख हाराहारीको काम भएको छ । जसमा एक करोड ७८ लाख हाराहारी भुक्तानी गर्न बाँकी छ ।
विराटनगर महानगरपालिका-१२ मा महानगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी र प्रदेश सांसद कार्कीबीच १४५ घर निर्माण गर्ने सम्झौता भएको थियो । बस्तीमा घर निर्माणका लागि प्रतिघर ७ लाख २५ हजार लाग्ने अनुमान छ । भुईं ढलाइ, बाँसको बेरा र टिनको छानो भएको एउटै डिजाइनका तीन कोठे घर निर्माण हुँदैछन् ।
महानगर आवास परियोजनाका फोकल पर्सन पुनम दाहालका अनुसार एक लाख ९५ हजार रुपैयाँ ह्याबिट्याटले उपलब्ध गराएएको छ । बाँकी रकम महानगर र सांसद कार्कीले व्यवस्थापन गर्ने सम्झौता थियो ।
दाहालका अनुसार बस्तीका बासिन्दा सबैलाई जीवन विकास समाजको ऋण सहयोगमा घर रहेको जग्गा उपलब्ध गराइएको छ । जग्गाको ऋण तिर्नका लागि घर धनीहरुलाई रोजगारी पनि दिइएको छ । बस्ती निर्माण सम्पन्न हुँदा १५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4