+
+

भ्रष्टाचारविरुद्ध फिल्म ‘प्रकाश’, ६ सहरमा स्ट्याण्डअप कमेडी यात्रा गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते ११:१३
फिल्म प्रकाशका मुख्य कलाकार प्रदीप खड्का

काठमाडौं । संसारका १८० मुलुकमध्ये नेपाल बढी भ्रष्टाचार हुने मुलुकको सूचीको ११७ औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२१ को आँकडाअनुसार नेपाल भुटान, भारत र श्रीलंकाभन्दा अझै पछाडि छ । ३३ वर्षदेखि यो सूचीमा नेपालको स्थानमा खास उतारचढाव छैन । सरकारी कार्यालयमा समेत भ्रष्टाचार हुने तथ्यले देखाएको छ ।

भ्रष्टाचारले कसरी सामाजिक जीवनमा असर पारेको छ भन्ने कथावस्तु बोकेको फिल्म ‘प्रकाश’ भदौ १० गते प्रदर्शन हुँदैछ ।

दिनेश राउत निर्देशित र महेन्द्र अधिकारी निर्मित फिल्मको बटमलाइन नै भ्रष्टाचार र बेथितिले कसरी आम नागरिक सरकारी पहुँचभन्दा टाढा छन् भन्ने चित्रण गर्छ । सरकारी कार्यालयमा हुने भ्रष्टाचारले फिल्मको मुख्य पात्रको शिक्षक बन्ने सपना कसरी प्रभावित हुन्छ भन्ने चित्रण फिल्मले गर्छ ।

भ्रष्टाचारविरुद्धको सन्देशसहित फिल्मको प्रचारप्रसार गर्न ‘प्रकाश’ले देशव्यापी स्ट्याण्डअप कमेडी यात्रा गर्ने भएको छ । असार ३१ गते भरतपुरबाट सुरु हुने टुर भदौ ५ गते राजधानी काठमाडौंमा आएर टुंगिने भएको छ । असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७ गते बुटवल, साउन १३ र १४ गते पोखरा, साउन २० र २१ गते विराटनगर, साउन २७ र २८ गते हेटौंडा तथा भदौ ३, ४ र ५ गते टुर काठमाडौंमा आयोजना हुने भएको छ ।

‘टेबलमुनिबाट’ नाम दिइएको प्रवद्र्धन कार्यक्रममा अभिनेता प्रदीप खड्कासहित हास्य कलाकारहरु आदर्श मिश्र, आयुश श्रेष्ठ, एलेनजंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् ।

निर्देशक राउतले फिल्मको कथावस्तुअनुसार नै प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । ‘फिल्मको कथावस्तु भ्रष्टाचारविरुद्धको सन्देश हो,’ उनले भने, ‘भ्रष्टाचारका कारण नागरिकले कसरी पीडा भोगेका छन् भनेर राज्य सञ्चालकलाई जिम्मेवार बन्न प्रेरित पनि गर्छ ।’

फिल्ममा दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे लगायतको अभिनय छ । जुम्लामा छायांकन भएको फिल्मले विपन्न परिवारको युवकले सपना पूरा गर्न गरेको संघर्षको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?