+
+

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते २०:४९

११ साउन, बुटवल । लुम्बिनीमा मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।

बुधबार बसेको लुम्बिनी विकास कोषको परिषद बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारको नयाँ उभार ल्याउन अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।

कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ ।

बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारीका काम गर्ने निर्णय पनि गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा संघीय सरकारले बिशेष ध्यान दिने बताए । उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सचीमा सूचीकृत गर्ने बताए ।

कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरि सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अघि बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्ने गरि मन्त्रालयले काम गर्ने प्रतिबद्धता उनले जनाए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउँदै उनले विमानस्थलबाट लुम्बिनीमा बढी भन्दा बढी पर्यटक भित्रयाउने सरकारको लक्ष्य रहेको बताए । लुम्बिनी परिषद बैठकमा आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पेश गरिएको छ । नीति कार्यक्रममा लुम्बिनीको विकासका योजनाहरु अघि सारिएको छ ।

त्यस्तै परिषदले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको कोषले जनाएको छ ।

देवदहमा गोल्डेन टेम्पल उद्घाटन

लुम्बिनी विकास कोषले गौतमबुद्धको मावली गाउँ देवदहमा निर्माण गरिएको गोल्डेन टेम्पल र फोटो म्यूजियमको उद्घाटन गरिएको छ ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गोल्डेन टेम्पल र फोटो म्यूजियमको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहेको बताए । उनले लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?