
१९ साउन, वीरगञ्ज । संघ र प्रदेशसभाको निर्वाचन निर्वाचनको मिति तय हुँदै गर्दा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो निर्वाचन क्षेत्रमा सडकको शिलान्यास गरेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा पर्ने वीरगञ्ज–१६ नगवामा बिहीबार बिहान ४.५ मिलोमिटर सडकको शिलान्यास गरेका हुन् । वीरगञ्ज मुख्यमन्त्री राउतकै निर्वाचन क्षेत्रमा पर्छ ।
०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट ९ हजार ८ सय ४ मत ल्याएर राउत प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
वीरगञ्ज–१५ लक्ष्मणवा–भिस्वा–नगवा–ईनर्वासम्म जोड्ने सडकको शिलान्यास गरिएको मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिए । पूर्वाधार विकास कार्यालय, वीरगञ्जमार्फत ६ करोड ५३ लाख ६८ हजार ५ सय ३० रुपैयाँको लागतमा सडक बनाउन लागिएको छ ।
सडक बनाउनका लागि सिवाको कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग असार ९ गते ठेक्का सम्झौता भएको थियो । शिलान्यास गरेकै मितिदेखि कार्य आरम्भ गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
३ हजार ५७२ घनमिटर माटो हाल्ने, ४०८७ घनमिटरसब बेस, १७८६ घनमिटर बेस, ५९५ घनमिटर एलफाल्ट, आरसीसी सडक र नाला २७ सय घनमिटर निर्माण गर्ने गरी सम्झौता भएको छ ।
२०८० पुस ८ गतेभित्र सडक बनाइसक्नुपर्ने दायित्व निर्माण कम्पनीको छ । मधेस प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक ५ किमी सडक’ कार्यक्रम काम हुन लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मधेस प्रदेशले जनाएको छ ।
प्रतिक्रिया 4