
२१ साउन, दाङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताएका छन् ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको उनले बताए ।
प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले भने, ‘छानबिन समिति जे प्रश्नको उत्तर दिन बनाइयो, त्यसको उत्तर दिन सकेन । बरु थप प्रश्नहरु जन्मायो ।’
उनले छानबिन समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोन कल डिटेल, मोबाइल लोकेसन जस्ता कुराहरु हेर्नुपर्ने उनले बताए । ‘छानबिन समितिले फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन ? उहाँहरुले त्यसलाई किन रोक्नु भयो ? त्यहाँ निर प्रश्न छ,’ उनले भने ।
उनले प्रतिपक्ष दल एमालले सुरुदेखि नै अर्थमन्त्रालयको सीसीटीभी फुटेज मागेको भएपनि त्यसलाई लुकाउने प्रयास गरेको बताए । ‘दोस्रो दिनदेखि नै हामीले सीसीटीभी फुटेज देखाउन भन्यौं’ उनले भने, ‘तर १३ दिनमा आएर फुटेज नै मेटाइयो । हामीले प्रश्न गर्न साथ त्यसलाई मेटाउने काम भयो ।’
पूर्वसभामुख समेत रहेका नेम्वाङले संसदमा उठेका सबै प्रश्नको जवाफ अब जनताले नै दिने बताए ।
उनले मुलुकमा एमसीसी, एसपीपी, नागरिकता विधेयक, अर्थमन्त्री शर्माको प्रकरणकालगायतका प्रकरणबारे संसद र सरकारबाट जवाफ नआउने बताए । ‘अब कुनै पनि प्रश्नको जवाफ संसद र सरकारबाट आउँदैन’ उनले भने, ‘मंसिर ४ गते चुनाव घोषणा भइसकेको छ । अब यी सबै कुराको जवाफ जनताले नै दिनेछन् ।’
प्रतिक्रिया 4