२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् ।
एन्फा मुख्यालयमा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा उनले मैत्रीपूर्ण खेल भए पनि जितका लागि खेल्ने बताए । ‘मैत्रीपूर्ण खेल भए पनि बंगलादेश विरुद्ध जितकै लागि खेल्ने हो’ हुमागाईंले भने, ‘यसका लागि हामी सबै मिलेर सहकार्य गरेर अघि बढ्नुपर्छ ।’
नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग खेल्ने तालिका छ । यही खेलका लागि एन्फा कार्यसमितिको बैठकले हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
प्रशिक्षक हुमागाईंले नेपालको प्रशिक्षण गर्ने हरेकको सपना हुने भए पनि यसपटक आफूले सरप्राइज पाएको बताए ।
‘निश्चय पनि हरेक कोचको ड्रिम हुन्छ राष्ट्रिय टिम हेर्ने’ कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त भएपछि अमेरिकाबाट आएका उनले भने, ‘तर अहिलेको अवस्थामा यो डिसिजन सरप्राइजिङ हो, अलि चाँडै भयो कि भन्ने हो ।’
एएफसी ए लाइसेन्स प्रशिक्षक हुमागाईं नेपाली मूलका अमेरिकन हुन् ।२०२० मा अमेरिकन नागरिकता लिएका उनले त्यहाँ एकेडेमीमा प्रशिक्षण दिंदै आएका छन् ।

उनले बंगलादेशसँगको खेलका लागि कोचिङ स्टाफमा युगलकिशोर राई र विनोद डंगोललाई लिएका छन् । उनले आज बिहीबारबाटै प्रशिक्षण सुरु गरेका छन् ।
प्रतिक्रिया 4