+
+

जसले चितुवाको मुखबाट छोरा खोसिन्

चिच्याउँदै कराउँदै रुदै उनले गुहार मागिन् । अरू गाउँलेहरु पनि के भयो के भयो भन्दै आए । गाउँलेहरु सबै ढुंगा मुढा गर्दै सालघारीको जंगलभित्र पसे । लक्ष्मीले चितुवा छोरा लगेको दिशा छाड्दै छाडिनन् । पछि चितुवाले सुभललाई भीरमा छाडेर गयो ।

सुवास पण्डित सुवास पण्डित
२०७९ भदौ ११ गते १९:४४

११ भदौ, चितवन । भदौ ८ गते साँझ ६ बजेको समय । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारकी २६ बर्षकी लक्ष्मी परियार दिनभरको काम सकेर खाना पकाउने सुरसार गर्दै थिइन् । भान्सामा आलु काट्दै गरेकी लक्ष्मीकै वरपर ३ बर्षको छोरा सुलभ खेलिरहेका थिए ।

कतिबेला सुलभ घर बाहिर निस्किए आमाले ख्याल गरिनन् । बाहिर निस्किएका सुभललाई एक्कासी चितुवाले घाँटीमा समाउँदै घिसार्दै लगेको देखिन्, लक्ष्मीले । त्यसपछि लक्ष्मीले एउटा बलियो दाउरो बोकेर छोरा घिसार्दै लगेको चितुवाको पछिपछि गइन् । दाउराले चितुवाको पुच्छरमै हाने पनि छोरा छाडेन । जंगलतिर घिसार्दै लग्यो ।

चिच्याउँदै कराउँदै रुदै उनले गुहार मागिन् । अरू गाउँलेहरु पनि के भयो के भयो भन्दै आए । गाउँलेहरु सबै ढुंगा मुढा गर्दै सालघारीको जंगलभित्र पसे । लक्ष्मीले चितुवा छोरा लगेको दिशा छाड्दै छाडिनन् । पछि चितुवाले सुभललाई भीरमा छाडेर गयो ।

चितुवाले समाउँदा सुलभको घाँटीमा गहिरो दुईवटा प्वाल र कानको तल्लो भागमा गहिरो घाउ लागेको थियो । हत्तपत्त सबै मिलेर उद्धार गरी उनलाई डुम्रेको मोती मेडिकल हल लगे । त्यहाँ त्यहाँका स्वास्थ्यकर्मीले आफूहरुले उपचार गर्न नसक्ने भन्दै तत्काल चितवन मेडिकल कलेज लैजान भने ।

छोरासँगै रहेकी आमा लक्ष्मीले भनिन्, ‘त्यसदिनको घटना सम्झदा अहिले पनि सपना जस्तो लाग्छ, छोरा बाँच्छ जस्तो लागेको थिएन, अहिले क्रमशः सुधार हुँदै गएको छ ।’

त्यसै दिन मुग्लिन नारायणगढ सडकखण्डको केराबारी भन्ने ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध थियो । संयोगवश केहीबेरमा सडक खुल्यो र सुभललाई उपचारका लागि भरतपुर ल्याइएको थियो ।

चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएका सुलभको भदौ ९ गते घाँटीको शल्यक्रिया गरिएको छ ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार बालकको घाँटीमा धेरै ठाउँमा गम्भीर चोट लागेको थियो । घाँटीमा गहिरो चोट भएपनि श्वास नली र रगत बहने मुख्य नशामा क्षति हुन नपाएको उनले बताए ।

‘श्वास नली र घाँटी हुँदै रगत बग्ने मुख्य नसामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको छ’ डा. लम्सालले भने, ‘चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुख जस्ता महत्वपूर्ण अंग क्षति हुनबाट जोगिएको रहेछ ।’

अस्पतालका चिकित्सकहरु डा. सुरेशराज शर्मा, डा. नविनकृष्ण यादव, डा. सुमित अधिकारीको टोलीले बालकको शल्यक्रिया गरेका थिए ।

अस्पतालका कार्यकारी निर्देशक प्रताप देवकोटा गम्भीर अवस्थामा अस्पताल ल्याइएको बच्चाको स्वास्थ्यमा अहिले सुधार भएको बताउँछन् । बालकलाई चितवन मेडिकल कलेजको पीआईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनको अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । छोरासँगै रहेकी आमा लक्ष्मीले भनिन्, ‘त्यसदिनको घटना सम्झदा अहिले पनि सपना जस्तो लाग्छ, छोरा बाँच्छ जस्तो लागेको थिएन, अहिले क्रमशः सुधार हुँदै गएको छ ।’

चिकित्सकका अनुसार सुलभको देब्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाईएको छ ।

चितुवा आतंक

बालकको उपचारका लागि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले ३० हजार रकम पीडित परिवारलाई अस्पतालमा नै भेटेर उपलब्ध गराएका छन् । अध्यक्ष थापाले गाउँपालिकामा चितुवाले आतंक नै मच्चाएको बताए ।

अध्यक्ष थापाका अनुसार बन्दीपुरमा चितुवाको आक्रमणबाट २ जना बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । । केही महिनाअघि मात्रै बन्दीपुर गाउँपालिका–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।

चितुवाले तनहुँको भानु नगरपालिका, बन्दीपुर र आँबुखैरहनी गाउँपालिकामा साना साना बालबालिका र पशु चौपायाहरु माथि आक्रमण गरेर मार्ने र घाइते बनाउने गर्दै आएको छ । भानु नगरपालिकामा मात्रै चितुवाको आक्रमणबाट पछिल्लो बर्ष तीन बर्षमा ८ बालबालिकाको मृत्यु भइसकेको छ । अन्य केही घाइते भएका छन् ।

बन्दीपुरमा नरभक्षी चितुवालाई नियन्त्रणमा लिन तीन वटा खोर र खोरमा बाख्रा तथा कुकुर राखेको भए पनि अहिलेसम्म खोरमा नपरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
फलामका खोरमा चितुवा नपरेको हुँदा काठका खोर बनाउने काम अघि बढेको उनले बताए ।

चितुवाले विशेष गरी साँझको समयमा साना बालबालिकालाई आक्रमण गरेको पाइएको छ ।
त्यसैले त्यतिबेला आफ्ना बालबालिकाहरुको ख्याल गर्न, घर भित्र राख्न वा ठूला व्यक्तिहरुको साथमा नै राख्न जनचेतनामूलक सन्देशहरु गाउँपालिकाबाट प्रवाह गरिएको अध्यक्ष थापाले बताए ।

जंगल बढे पनि चितुवाको आहार प्रजातिका अरु जनावर अभाव हुँदा चितुवाले मानिस माथि आक्रमण गरेको हो कि भनेर गाउँघरमा बाख्रालाई जंगलमा छाड्ने गरिए पनि त्यो सफल नभएको अध्यक्ष थापाले बताए ।

जिल्ला वन कार्यालयसँग आवश्यक समन्वय गरेर यो समस्याको समाधानका लागि ठोस काम के गर्न सकिन्छ भनेर छलफल गर्ने अध्यक्ष थापाले जानकारी दिए । गाउँपालिकाले चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार र घाइतेलाई ३० हजार दिने गरेको छ । यस्तै, जिल्ला वन कार्यालयले मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र घाइतेको उपचारका लागि सहयोग गर्ने अध्यक्ष थापाले बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?