 
																			२० भदौ, काठमाडौं । कांग्रेसभित्र विवादमा आइराख्ने सर्लाही ४ का सांसद अमरेश सिंहको नाम प्रारम्भिक उम्मेदवार सूचीमा नपरेको खबरले सोमबार दिनभर पार्टी राजनीति तरंगित भइरह्यो । यसअघि दुईपल्ट चुनाव जितेका अमरेश यसपल्ट सिफारिसमै नपर्नुमा केन्द्रीय र जिल्लागत पृष्ठभूमिले काम गरेको छ ।
खासमा सर्लाहीको जिल्ला नेतृत्वसँग अमरेश सिंहको अलिक पहिलेदेखि नै र्याङ्ठ्याङ् मिलिरहेको थिएन । कोइराला पक्षधरका अमरेश र शेरबहादुर देउवा पक्षबाट जिल्लामा नेतृत्व गर्दै आएका सुरेन्द्रप्रसाद सिंहबीच पहिले देखिकै टकराव थियो ।
महाधिवेशनको समयमा क्रियाशील सदस्यताको विवाद दुई समयमा उत्कर्षमा पुग्यो । आफ्ना पक्षका कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण नगरिएको अमरेशको गुनासो थियो ।
जति कराए पनि अमरेशको आवाजलाई सुरेन्द्र पक्षधर सुन्नै तयार भएन । क्रियाशील सदस्यतर्फ पनि सुरेन्द्र पक्षका जिल्लाभर बढी छानिए । अमरेश पक्ष क्रमशः कमजोर भयो ।
विवाद चरमोत्कर्षमा पुगेकै बेला सुरेन्द्र पक्षले अमरेशलाई महाधिवेशन प्रतिनिधिमै हराइदियो । महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि त्यसको असर स्थानीय तहमा देखियो । स्थानीय तहमा टिकट वितरणमा समेत अमरेशको कुनै भूमिका जिल्लाको संस्थापनले दिएन ।
संस्थापन पक्षले पेलेपछि त्यसको रोष अमरेशले स्थानीय चुनावमा देखाए । अमरेशकै कारण अन्तर्घात भएर जित्न सकिने स्थानमा पराजित हुनुपरेको सुरेन्द्र पक्षको निचोड छ । सुरेन्द्र पक्षले अमरेश विरुद्ध अनुशासनको कारबाही डण्डा चलायो ।
कारबाहीको पत्र त्यो बेला मात्रै सार्वजनिक गरिएको छ, जतिबेला उनको नाम सिफारिस गरिएको छैन । गत असार ४ मा भएको कारबाहीको पत्र सोमबार मात्रै सार्वजनिक गरिएको छ । जिल्ला उपसभापति तथा अनुगमन समितिका संयोजक डा सरोज कुमारले निकालेको विज्ञप्तिमा अमरेशलाई निलम्बन गरिएको उल्लेख गरेका छन् ।
अमरेशलाई कारबाही गरिएको पत्र काट्न सरोजकुमार र जिल्ला सभापति सुरेन्द्र पार्टी भित्रका एउटै समूहका हुन् । अमरेशलाई अनुशासनको कारबाही बारे कुनै जानकारी नभएको मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।
सिफारिसमा नपरेपछि अमरेश : गगन र मलाई देउवाका मानिसहरुले भिडाउन खोजे
अमरेश आगामी चुनावका लागि पार्टी क्षेत्रीय समितिले सिफारिस नै नगरेपछि आक्रोशित छन् । पार्टी कार्यसमितिले उनको क्रोध अझै बढाइदिएको छ, महामन्त्री गगन थापाको नाम प्रस्तावित गरेर । अनलाइनखबरसँग कुरा गर्दै सिंहले आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै क्षोभ व्यक्त गरे ।
गगन थापाले सर्लाहीसँग जोडिएर कुनै काम नगरेको भन्दै उनी आएमा त्यसको कुनै सान्दर्भिकता नहुने पनि दाबी गरे । गगन थापा यसअघि काठमाडौं ४ बाट चुनाव जित्दै आएका छन् । उनलाई कास्कीलगायत जिल्लाबाट सिफारिस गरिए पनि काठमाडौंमै चुनाव लड्ने प्रष्ट गरिसकेका छन् ।
‘गगनजी यता आउनुहुन्न भन्ने बुझी बुझी देउवा समूहका मानिसहरुले यो चाल चालिरहेका छन्,’ सिंहले भने, ‘उहाँ काठमाडौंमा लड्ने हो, अन्तिम नोमिनेसनमा मै पर्ने हो ।’
सिंहका अनुसार संघीय चुनावको टिकट सिफारिस गर्ने समितिमा देउवा समूहका मानिसहरु छन् । त्यसैले उनको नाम नपरेको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4