
२३ भदौ, दाङ । दाङमा सुन चोरीको आरोपमा पक्राउ परेका एक बन्दी सरकारी वकिल कार्यालयबाट भागेका छन् ।
घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई बिहीबार जिल्ला अदालतमा म्याद थपका लागि लैजाने तयारी भइरहेका बेला सरकारी वकिल कार्यालयबाट भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) वीरबहादुर वलीका अनुसार विश्वकर्मालाई थुनामा राख्न अनुमति लिनका लागि न्यायाधीशसमक्ष लैजाने तयारी थियो । उनले सरकारी वकिल कार्यालयम शौचालय जान्छु भनेका थिए । त्यसपछि शौच गर्न शौचालय लगिएको बेला झ्यालबाट भागेको एसपी वलीले बताए ।
उनका अनुसार भागेका बन्दी विश्वकर्माको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । उनी बुधबारमात्रै सुन चोरीको आरोपमा घोराही–१० नारायणपुर बजारबाट पक्राउ परेका थिए ।
*यसअघिको समाचारमा बन्दी लक्ष्मण विश्वकर्मा जिल्ला अदालतबाट भागेको गलत तथ्य पर्न गएकामा सच्याएका छौं ।
प्रतिक्रिया 4