
११ असोज, काठमाडौं । यो वर्ष दशैं नजिकिंदा पनि राम्रो व्यापार नभएको भन्दै व्यापारीहरु चिन्तित छन् । महँगी, लगानीयोग्य पूँजीको अभाव, चीनको सीमा बन्द हुँदा लत्ताकपडा तथा उपभोग्य वस्तुको बिथोलिएको आपूर्ति लगायतका कारण व्यापारी उत्साहित छैनन् ।
तर, घटस्थापनाको दिनदेखि बजारहरुमा ग्राहकको उपस्थिति बाक्लो भएको छ । यसले शहरमा दशैं गज्जबसँग लागेको महसुस गराउँछ ।
दशैं लागेपछि काठमाडौं उपत्यकामा धेरै भीडभाड हुने क्षेत्रमा ललितपुरको मंगलबजार–लगनखेल क्षेत्र पनि एक हो । दशैंमा नयाँ लुगा किन्नेदेखि नयाँ सामान जोड्नेसम्म चलन हुन्छ । दशैंका लागि उपभोग्य वस्तुहरु पनि किन्नुपर्छ । त्यसका लागि एकै ठाउँमा सबैजसो सामान पाइने क्षेत्र ग्राहकको रोजाइमा हुन्छ ।
असन र न्यूरोडपछि धेरै चहलपहल र व्यापार हुने क्षेत्र हो, मंगलबजार । यहाँ पनि नुनदेखि सुन सबै सामानहरु पाइन्छन् ।
उपभोग्य सामानदेखि लत्ताकपडासम्म किन्न ललितपुर नगर र आसपास क्षेत्रका मानिसहरु मंगलबजारमा आउँछन् । साँघुरा गल्ली र बाक्लो बस्ती भएकाले दशैंको बेलामा मंगलबजार क्षेत्रमा थामिनसक्नु भीड छ ।
ग्राहकलाई समान छानेर फुर्सद छैन भने पसलेहरुलाई बिक्री गर्न भ्याईनभ्याई छ । यो दृश्यले शहरमा दशैंको रौनकले छोपेको देखाउँछ ।
प्रतिक्रिया 4