+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

परदेशीसँगै फर्कियो दशैंमा खुसी (फोटोफिचर)

परदेशबाट स्वदेश फर्कनेहरुले सरमामान र पैसा त ल्याउँछन् नै, त्योभन्दा बढी उनीहरुले साथमा खुसी लिएर आउँछन् । त्यसैले अहिले त्रिभुवन विमानस्थलमा परदेशी र घरदेशीको मिलनको दृश्यले धेरैलाई भावुक बनाउँछ ।

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असोज १३ गते २१:१९

१५ असोज, काठमाडौं । दशैंको माहोलले छोपिसक्यो । बजारदेखि बसपार्कसम्म चहलपहल बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैंको दृश्य नदेखिने कुरै भएन ।

केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चाप बढेको छ । रोजगारीका लागि विदेश गएका युवाहरु धमाधम दशैं मान्न फर्किरहेका छन् ।

कोरियाबाट फर्किएका छोरा तेन्जिङ लिन आएका बौद्धका लाक्पा शेर्पा एयरपोर्टको आगमनतर्फ कक्षको एक टकहले हेरिरहेका छन् । झण्डै २ घण्टाको प्रतिक्षापछि छोरा विमानस्थलबाट निस्किंदा उनको खुसीको सीमा नै रहेन ।

लाक्पासँगै आएकी तेन्जिङकी सानी छोरी पनि बुबाको फिर्तिमा धेरै खुसी देखिइन् । तर, प्रतिक्षा कक्षमा जान पैसा नतिरेकाले उनीहरु ट्याक्सी स्टेसनसम्म बारको वारपार नै हिँडिरहे । लामो बार सकिनासाथ छोरीलाई तेज्जिङले जुरुक्कै बोकेर र अंकमाल गरे । यो दृश्यले बाबु तेन्जिङले खुसीका आँशु रोक्न सकेनन् ।

विमानस्थलमा अहिले विदेशिएका युवा र उनीहरुका आफन्तबीचको यस्ता भावुक दृष्यहरु बाक्लै देखिन्छन् । मीठो मसिनो खाने, राम्रो लाउने, रमाइलो गर्ने वर्ष दिनको चाड दशैंमा नेपालीहरु जहाँसुकै भए पनि मूलथलोमा भेला हुन खोज्छन् ।

२ वर्षपछि कतारबाट फर्किएका धनकुटाका सोमत राई दशैं मनाउन कै लागि भनेर फर्किएको बताउँछन् । यसअघिका दुई वटा दशैं महामारीले पनि खल्लो बनाएकाले यो पटक दशैं र तिहार मनाएर मात्रै फर्किने योजनामा छन् उनी ।

गाउँमा स–परिवार भेला भएर दशैं मनाउने गरी योजना बनाएर आएको उनले बताए । ‘भोलि बिहान विराटनगरको फ्लाइट छ,’ उनी भन्छन्, ‘मलाई त कहितबेला घर पुँगाैं जस्तो भएको छ ।’

एयरपोर्टमा आफन्त तथा साथीभाइ लिन बसेकाहरुले कहिलेकाहीँ लामो समय कुर्नुपर्छ । नुवाकोटका रेशम तामाङ यूएईबाट फर्किंदै गरेका छोरा कुरिरहेका छन् ।

‘१ घण्टा भइसक्यो, भित्र गएर बस्न सय रुपैयाँ टिकट लाग्ने रहेछ,’ उनी भन्छन्, ‘यहाँ कुर्न सकस भएपनि छोरा आउने कुराले खुसी छु ।’ उनी छोरा आउनासाथ आजै गाडी लिएर नुवाकोट जाने योजना छन् । ‘गाडी बुक गरिसकें,’ उनी भन्छन्, ‘छोराले होटल बस्दिन भनेकोले रातिसम्म भएपनि घरमै पुग्छौं ।’

मलेसियाबाट दशैं मनाउन स्वदेश फर्किए शान्तराम उप्रेती महामारी सुरु भएपछि पहिलोपटक घरमै दशैं मान्न पाउने कुराले उत्साहित छन् ।

‘पोहोर त जुठो परेको थियो, यो वर्ष त जसरी पनि घर आउनु थियो,’ उनी भन्छन्,‘ गाउँ जाने भनेपछि त्यसै गदगद भइन्छ । झन यो पाली त दशैंमा नै आउन पाइयो ।’

धेरैजसोले दशैंमा स्वदेश फर्किँदा बालबच्चाका लागि लत्ताकपडा र चकलेट र खेलौना लिएर आउँछन् । यस्तै कतिपयले टेलिभिजन सेट पनि ल्याउँछन् ।

उनीहरुले जति परदेशबाट सरमामान र पैसा ल्याउँछन्, त्योभन्दा बढी खुसी लिएर आउँछन् । त्यसैले अहिले त्रिभुवन विमानस्थलमा परदेशी र घरदेशीको मिलनको दृश्यले धेरैलाई भावुक बनाउँछ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?